रूकुम पश्चिममा एक लाख पुरस्कार राशिकाे खुला वडा स्तरीय पुरुष भलिबल हुने

रुकुम पश्चिम / रुकुम पश्चिममा खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । भाद्र २५ देखि भाद्र ३० गतेसम्म मुसीकोट नगरपालिका १ खलंगाको बराहटाकुरामा १ लाख पुरस्कार राशिको प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको आयोजना रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले गरेको छ ।

प्रतियोगिताको विजेता टिमले नगद एक लाख पुरस्कार पाउने रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेज बुढाले जानकारी दिनुभयो । त्यस्तै उप विजेताले नगद ५० हजार प्राप्त गर्दा तृतिय हुनेले नगद ३० हजार पुरस्कार पाउने उहाँले बताउनुभयो ।

उहाँका अनुसार विभिन्न व्यक्तिगत इभेन्टमा पनि खेलाडी पुरस्कृत गरिने छ । वेष्ट प्लेयर, वेष्ट स्पाइकर, वेष्ट लिबोरो, वेष्ट लिफ्टर, वेष्ट व्लकर र वेष्ट क्विकर छनौट गरी पुरस्कृत गरिने छ । वेष्ट प्लेयरले नगद ५ हजार र अन्यले नगद २/२ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा टिम दर्ताका लागी १० हजार शुल्क लाग्ने छ भने खेलाडिले आफ्नो परिचय खुल्ने कागजात र वडाको सिफारिस अनिवार्य पेस गर्नुपर्ने छ । खेल अन्तराष्ट्रिय नियम अनुसार खेलाईने छ । आयोजकका अनुसार प्रतियोगितामा कर्णाली प्रदेश र साविकको राप्ती अञ्चल भित्र पर्ने जिल्लाका वडा स्तरीय टिमले सहभागिता जनाउन पाउने छन् ।

तपाईको प्रतिक्रिया