हिरासतमै मृत भेटिए लामिछाने

सुर्खेत/ कर्णाली प्रदेशको राजधानी सुर्खेतमा वनसम्बन्धी मुद्दामा पक्राउ परेका व्यक्तिको हिरासतमै मृत्यु भएपछि मृतकका आफन्त आन्दोलित बनेका छन् । वीरेन्द्रनगर वन डिभिजन कार्यालयमार्फत् बिहीबार पक्राउ गरिएका वीरेन्द्रनगर–१३ भूतचोकका ५८ वर्षीय धनिराम लामिछानेको वन कार्यालय पुर्‍याएलगत्तै मृत्यु भएपछि आफन्तहरू आन्दोलित बनेका हुन् ।
सालको रुख काटेको आरोपमा वीरेन्द्रनगर सव–डिभिजन कार्यालयका कर्मचारीहरूले उनलाई पक्राउ गरेका थिए । पक्राउ गरेर डिभिजन वन कार्यालय वीरेन्द्रनगरमा रहेको हिरासतमा राखिएको थियो ।
तर केही बेरमा उनी हिरासत कक्षको झ्यालमा घुँडा टेकेर झुण्डिएको अवस्थामा देखेपछि आफन्तहरूले आक्रोशित हुँदै बिहीबार साँझदेखि कार्यालय परिसरमा आन्दोलन गरिरहेका छन् ।
मृतकका आफन्तले पक्राउ गर्नेहरूले कुटपिट गरेकाले लामिछानेको मृत्यु भएको आरोप लगाएका छन् । कुटपिटका कारण लामिछानेको मृत्यु भएको भन्दै आफन्तहरू कार्यालयमै पुगेर विरोध जनाएका छन् । आक्रोशित आफन्तहरूले घटनाबारे सत्यतथ्य छानबिन नभएसम्म शव नबुझ्ने अडान लिएका छन् ।
वीरेन्द्रनगर वन डिभिजन कार्यालयका अनुसार मदन भण्डारी राजमार्गमा पर्ने जंगलमा नम्बरिङ गरिएको रुख काटेको आरोपमा उनलाई पक्राउ गरिएको थियो । सुरूमा लामिछानेकी श्रीमतीलाई पक्राउ गरी वन कार्यालय लगिएको थियो भने पछि धनीरामलाई पक्राउ गरिएको थियो ।
आफन्तलाई सोधपुछका लागि ल्याएर स्थानीय जनप्रतिनिधि र आफन्तको जिम्मा जमानी लगाएर छोड्ने कुरा थियो । पछि आरोपित पनि घरमा भएको सूचना आएपछि कर्मचारीहरूले पक्राउ गरी ल्याइएको डिभिजन वन कार्याल सुर्खेतका प्रमुख मुनबहादुर रावतले जानकारी दिए ।
कार्यालयको हिरासतमा लामिछाने झुन्डिएको अवस्थामा फेला परेको रावतले बताए । यता आफन्तले भने पक्राउ गर्दा कुटपिटबाट मृत्यु भएपछि कर्मचारीले कोठामा झुन्ड्याएर राखेको आरोप लगाएका छन् ।
लेकवेशी नगरपालिका १० का स्थायी बसोबासी लामिछाने हाल वीरेन्द्रनगर–१३ भुतचोकमा बस्दै आएका थिए । हाल बस्दै आएको ठाउँमा मदन भण्डारी राजमार्गले जोडिएको क्षेत्र हो ।
यो राजमार्ग विस्तारको क्रममा सालका रुख कटान गर्न वीरेन्द्रनगर सव–डिभिजन कार्यालयले टाँचा लगाइएको छ । बारीमा पर्ने रुख भएकाले लामिछानेले केही दिनअघि मात्रै कटान गरेर चिरान गर्न लगाएका थिए ।

तपाईको प्रतिक्रिया