सुर्खेत /नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले काठमाडौँ क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने तयारी गरेका छन्। समाजवादीका युवा नेता समेत रहेका पराजुलीले सोही क्षेत्रबाट लड्न चासो बढाएको उनी निकट नेताहरु बताउँछन्।
यो क्षेत्र नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पाेखरेलको क्षेत्र हो। उनी विगतबाटै सोही क्षेत्रबाट चुनाव लड्दै आएका छन्। खासगरी पराजुलीले पाेखरेलसँग भिड्न चाहेका हुन्।
‘म प्रत्यक्षरूपमा चुनाव लड्न चाहन्छु। त्यसका लागि काठमाडौँ क्षेत्र नं. ५ बाट लड्न चाहेको हुँ।’ पराजुलीले दावी गरिरहे पनि टिकट पाउन भने सकस देखिन्छ। किनकि सत्ता गठबन्धनबाट उम्मेदवार भागवण्डा गर्दा यो क्षेत्र काग्रेसकाे भागमा पर्ने सम्भावना छ। गएको प्रतिनिधि सभा निर्वाचनमा पोखरेलसँग कांग्रेसका प्रकाशशरण महत भिडेका थिए।
महतलाई हराउँदै पोखरेल विजयी बने। यसपटक महतले आफ्नो पुरानो क्षेत्र नुवाकोट फर्किन चाहेका छन्। नुवाकोटमा उम्मेदवार बन्न महतलाई सहज छैन। उनकै दाजु रामशरण महतलाई मनाउनु पर्ने छ। यदि नुवाकोटबाट टिकट नपाएमा फेरि महत काठमाडौँ फर्किनेछन्। महत मात्र होइन अर्का कांग्रेस नेता नैनसिंह महरको पनि सोही क्षेत्रमा दावी छ।
गठबन्धनले कसलाई उम्मेदवार बनाउँछ अहिले भन्न नमिल्ने एकीकृत समाजवादीका एक नेताको भनाइ छ। ‘अध्यक्षज्यू(माधव नेपाल)ले मात्र हो भने त सुदेशलाई टिकट दिन असहज छैन। जल्दोबल्दो नेता हो। टिकट पाउनु हुन्छ,’ समाजवादीका एक नेताले भने,‘तर गठबन्धन हुँदा कांग्रेस हावी हुन सक्छ। यसैले सुदेशले टिकट नपाउन सक्छन्।’
एमालेबाट टुक्रिएर समाजवादी बनेसँगै पराजुली एकीकृत समाजवादीनिकट अनेरास्ववियूका अध्यक्ष छन्। प्रष्ट वक्ताको छवि बनाएका उनलाई पार्टीले मात्र भने उम्मेदवार बन्न रोक लगाउने छैन।
वरिष्ठ उपाध्यक्ष पोखरेल यो पटक पनि काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ बाटै चुनाव लड्न तयारीमा छन्। पोखरेल २०७४ को निर्वाचनमा कांग्रेस उम्मेदवार प्रकाशशरण महतलाई हराउँदै निर्वाचित भएका थिए।
पोखरेलले २३ हजार २९ मत ल्याउँदा महतले १३१६९ मत मात्र पाएका थिए। यसपटक पनि एमालेबाट पाेखरेल नै उम्मेदवार बन्ने लगभग पक्का छ। एमालेले यसपटक काठमाडौँको साेही क्षेत्र मात्र जितको दावी गर्दै आएको छ। तर एकपछि अर्को गर्दै यस क्षेत्रमा उम्मेदवार बन्नेको लहड बनेको छ। पाेखरेललाई जित्न सहज भने छैन।
भावना शर्मा । १ भाद्र २०७९, बुधबार १७:०९