दियो खबर संवाददाता कालिकोट। कर्णाली राजमार्गको मर्मतसम्भारको काम गुणस्तरहीन भएको छ । कर्णाली राजमार्ग अन्तरगत कालिकोट सदरमुकाम आसपासमा भईरहेको मर्मतसम्भारको काम गुणस्तरहीन भएको हो ।जिल्ला सदरमुकाम स्थित खाँडाचक्र नगरपालिकाको गेट अगाडीको सडक झण्डै दुई हप्ता अगाडी पीच भएको थियो । उक्त सडकमा बिहिबार स्थानिय युवा, नगरपालिकाका कर्मचारी, पत्रकार, नागरिक समाजका अगुवाले हातले सडक भत्काए । स्थानिय नागरिकहरुको बिरोध पछि उक्त सडकको अनुगमन समेत गरिएको छ । तत्कालै पीच गरिएको सडकको बेहाल छ ।
स्थानिय युवा रचिन्द्रबहादुर शाहीले जिल्ला सदरमुकाम आसपासमा पीच गरिएको सबै सडक हातले भत्काउन सकिने बताए । उनले भने, ̔पीचको काम जारी छ । तर हप्तादिन अगाडी गरिएको पीच पनि हात र खुट्टाले सजिलै भत्काउन सकिन्छ । त्यहाँ गाडी गुड्दा के हालत होला । यो पीचको नाममा मात्र पीच गरियो । गुणस्तरयुक्त काम र टिकाउ हुने पीच भएन् । यो डिभिजन सडक कार्यालय जुम्ला र निर्माण व्यवसायीको चरम लाप्रबाही हो । सम्बन्धित निकायहरुको ध्यान पुगोस ।’ यस्तै खाँडाचक्र नगरपालिकाका प्रशासन शाखा प्रमुख अबिराज शाहीले कर्णाली राजमार्गको मर्मतको काम गुणस्तर हीन भएको बताए । उनले पीच गर्दै गएको सडक भत्किदै जानुमा बजेट सक्नकै लागि मात्र काम भएको बताए । कालिकोट उद्योग बाणिज्य संघका सदस्य दिनेश शाहीले कर्णाली राजमार्गको कालिकोट खण्डमा सडक मर्मत गर्दा लाप्रबाही भएको बताए । उनले पीच गरेको हप्ता दिनपछिसम्म पनि रोटीको जाला निकालिए झै आफै भत्किने अवस्थामा रहेको बताए । उनले भने, ̔यो नाम मात्रको पीच गरियो । टिकाउ भएन् । घाम लागे पानी परे भत्किन्छ । फेरी राजमार्गको हबिगत उस्तै हुन्छ ।’
यस्तै खाँडाचक्र नगरपालिका वडा नं. १ का वडा सचिव दर्ब शाहीले कर्णाली राजमार्गको कालिकोट खण्डमा भईरहेको पीच सबै ठाँउमा कम्जोर रहेको बताए । उनले भने, जिल्ला सदरमुकाम स्थित जिरोपोईन्टबाट कोट्दरबार होटलसम्मको झण्डै एक किलोमिटर सडक खुट्टा टेक्दा भासिन्छ । हातले उखेल्दा उक्काउन सकिन्छ । पीचको लिएर पनि निकमै पातलो छ । डिभिजन सडक कार्यालयका इन्जीनियर सन्तोष भण्डारीले हातले उक्किने सडकमा फेरी काम गर्न लगाउने बताए । उनका अनुसार यो सडकको मर्मत हो । पुरा बिग्रिएको ठाँउमा सबै पीच हुन्छ । थोरै बिग्रिएको ठाँउमा टालटुल गर्ने हो । सामान्यतया पीच गरेको तीन दिनमा सडक बलियो बन्छ । हप्ता दिनसम्म पनि हातले उक्किने सडकमा फेरी पीच गर्नुपर्छ ।
कालिकोटका निमित्त प्रमूख जिल्ला अधिकारी युवराज गुरागाईले प्रशासनमा पनि स्थानिय नागरिकहरुले सडक पीचको काम गुणस्तर हीन भयो भनेर गुनासो गरेको बताए । हामीले सडकको निर्माण स्थलमा खटिएका प्राबिधिक र डिभिजन सडक कार्यालयमा पनि उखेल्दा सडक मर्मतको काम गुणस्तरीय गर्न निर्देशन दिएका छौँ । उनले भने, ̔भत्किने सडकलाई पुन पीच गर्नुपर्छ । हामी फेरी डिभिजन सडकका प्राबिधिक र निर्माण व्यवसायीलाई बोलाएर निर्देशन दिन्छौँ ।’ डिभिजन सडक कार्यालयका अनुसार जुम्लाको खण्डका निर्माण सेवाले जिल्ला सदरमुकाम स्थित करीव २ दशमलव ५ किलोमिटर सडक मर्मतको ठेक्का लिएको छ । उसकै खण्डमा गुणस्तर हीन काम भएको हो ।यो समाचार ई-कर्णाली खबर बाट साभार गरिएको हो।
दियो खबर । २९ आश्विन २०७७, बिहीबार १४:४०