कर्णाली प्रतिष्ठानमा उपकुलपति सहितका कार्यालय तालाबन्दी, प्रशासनिक कामकाज ठप्प

दियो खबर संवाददाता सुर्खेत । अनियमित डीन नियुक्ती खारेजीको माग गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपकुलपति सहितका कार्यालय प्रशासनमा अनिश्चितकालिन ताला बन्दी गरिएको छ । उपकुलपति डा. राजेन्द्रराज वाग्लेले अनियमित तवरले डिन नियुक्ति गरेको भन्दै कर्मचारी कल्याणकारी समाजले थालेको विरोध कार्यक्रम चर्किदै गएको हो ।
सोमबार उपकुलपति डा. वाग्लेले जनस्वास्थ्य संकायको डिन नियुक्त गरेका थिए । कर्मचारीहरुले अस्पताल प्रशासन भित्र रहेका रजिष्टार, उपकुलपति र शिक्षाध्यक्षको कार्यकक्षदेखि डीनको कार्यालय समेत ताला बन्दी गरेका छन् ।
ताला बन्दीले अस्पताल प्रशासनिक कामकाज ठप्प भएका छन् । प्रतिष्ठानमा दुई वटा डीन नियुक्त भइसकेका थिए । उनीहरुलाई जनस्वास्थ्य संकायको जिम्मेवारी दिन सकिने अवस्था हुदाँहुदै पनि उपकुलपतिले आर्थिक भार बढ्ने गरी डीन नियुक्ति गरेको कर्मचारीको दावी छ ।
उपकुलपति डा. वाग्लेले काठमाडौँ सम्पर्क कार्यालयबाट अर्को डीन नियुक्त गरेपछि कर्मचारी आन्दोलित भएका हुन् । मंगलबार कर्मचारी कल्याणकारी समाजले डिन नियुक्ति फिर्ता लिन २४ घण्टे अल्टिमेटम दिएका थिए । तर उपकुलपति वाग्लेले कुनै प्रक्रिया नदिएपछि बाध्य भएर ताला लगाउनु परेको कर्मचारी कल्याणकारी समाजका अध्यक्ष रामकान्त उपाध्यायले बताए ।
नयाँ डीन नियुक्त असोज २६ गते काठमाडौँ सम्पर्क कार्यालयबाटै गरिएको थियो । कर्मचारी समाजले प्रतिष्ठानमा भइरहेको डिन नियुक्ति लगायतको फर्जि कर्मचारी नियुक्ति प्रक्रियामा भइरहेको अनियमितता बिरुद्दको आन्दोलनमा साथ दिन जुम्लाबासीलाई आग्रह गरेको छ ।
अनियमित तवरले नियुक्त गरिएका स्वास्थ्य संकायका डिन लगायतका सम्पुर्ण फजुल नियुक्ति खारेज गर्नुपर्ने, कर्मचारी कल्याणकारी समाजले यसअघि राखेका मागहरु कार्यन्वयन गर्नुपर्ने र कोरोनामा खटिने सम्पुर्ण चिकित्सक तथा कर्मचारीहरुको जोखिम भत्ता तत्काल उपलब्ध गराउनु पर्ने माग राखेका छन् ।
उपकुलपति डा. वाग्लेले आफ्नो कार्यकालका अधिकांश दिन काठमाडौँमै बसेर तलबभत्ता खाने गरेको आरोप छ । मागको संवोधन नभएको खण्डमा इमरजेन्सी बाहेकका सबै सेवा बन्द गर्ने कर्मचारीको चेतावनी छ ।यो समाचार नेपाली रैवार बाट साभार गरिएको हो।

 

तपाईको प्रतिक्रिया