कालिकोटमा ई-पासपोर्ट वितरण सुरु

सुर्खेत/जिल्ला प्रशासन कार्यालय कालिकोटमा जनशक्तिको अभावका विच पनि विद्युतीय राहदानी (ई-पासपोर्ट) वितरण सुरु गरेको छ । आइतबार देखि जिल्लामै याे सेवा सुरू भएपछि विद्युतीय राहदानी लिन काठमाडौं जानुपर्ने बाध्यता हटेकाे छ ।
पहिलो चरणमा दैनिक ८ जनालाई सेवा प्रदान गर्ने गरी विद्युतीय राहदानी सेवा सुरु गरिएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए ।
विद्युतीय राहदानी बनाउन राष्ट्रिय परिचयपत्र वा यसको १० अङ्कको नम्बर अनिवार्य गरिएको छ । त्यसैले सर्वसाधारणले पहिला राष्ट्रिय परिचयपत्र बनाउनुपर्ने भएको छ ।
२०७८ साल मङ्सिर १ गतेदेखि जारी भएको विद्युतीय राहदानी वितरणलाई सरकारले देशव्यापी बनाउँदै लगेको छ ।
विद्युतीय राहदानी के हो ?
विद्युतीय राहदानीमा विद्युतीय चिप र एन्टेना समेत जडान गरिएको हुन्छ । चिपमा औंठा छाप, तस्वीर लगायतका व्यक्तिगत विवरण हुन्छन् ।
यी विवरण राखेर चिप लक गरिसके पछि कसैले थपघट वा फेरबदल गर्न सक्दैन । यो हालसम्म संसारमा विभिन्न मुलुकमा जारी भएको अत्याधुनिक राहदानी मध्येमा पर्दछ ।
ICAO PKD मार्फत सूचना रुजु हुने हुँदा विभिन्न मुलुकका अध्यागमन कार्यालयमा निकै सहज र छिटो हुन्छ । विद्युतीय गेटहरु भएका ठाउँमा स्वत:खुल्ने व्यवस्था समेत गरिएको हुन्छ ।
विशेषताहरु के छन् ?
याे पोलिकार्बोनेट सहितको विद्युतीय राहदानी हो । पोलिकार्बोनेट सहितको डेटापेजमा विद्युतीय चिप र एन्टेना जडान गरिएको हुन्छ, जुन आँखाले सहजै देख्न सकिँदैन । यो तेस्राे पुस्ताको अत्यन्त सुरक्षित र भरपर्दो राहदानी भएकाे सरकारकाे दाबी छ ।
साधारण राहदानीको रङ्ग चकलेटी खैरो हुन्छ । साधारण राहदानी ३४ पेज र ६६ पेज गरी दुई प्रकारका जारी छन् । अब जारी हुने राहदानीहरु कुटनीतिक, विशेष, सर्भिस, अस्थायी,साधारण (३४ र ६६ पृष्ट),सिम्यान्स अभिलेख किताब गरी सात प्रकारका हुनेछन् ।

तपाईको प्रतिक्रिया