व्यापारमा हात हाल्दै मध्यपश्चिम विश्वविद्यालय,पार्टी प्यालेश देखि सपिङ मल सम्म खोल्ने योजनामा उपकुलपति प्रा.डा-सिंह

काठमाडौं/मध्यपश्चिम विश्वविद्यालयले आर्थिक उन्नयनका लागि सहकारीदेखि सपिङ मलसम्म सञ्चालन गर्ने कार्ययोजना बनाएको छ। विश्वविद्यालयका उपकुलपति प्रा.डा.नन्दबहादुर सिंहले मध्यपश्चिम विश्वविद्यालयको एघारौं सभामा कुलपति एवं प्रधानमन्त्री शेरशहादुर देउवासमक्ष प्रस्तुत गरेको कार्ययोजनामा विश्वविद्यालयलाई आत्मनिर्भर बनाई सञ्चालन गर्न विभिन्न परियोजना र संरचना निर्माण गर्ने उल्लेख छ।
आन्तरिक तथा बाह्य रोजगारीको अवसर सिर्जना गर्न विश्वविद्यालयले आधुनिक चमेना गृह,सहकारी,होटल व्यवस्थापन अध्ययनका लागि उपयोगी हुने आधुनिक एवं सुविधासम्पन्न होटल,छापाखाना,पार्टी प्यालेस तथा सपिङ मल निर्माण गरी सञ्चालन गर्न २ सय ६३ करोड लगानी लाग्ने उपकुलपति सिंहले बताएका छन्। उनले भने, ‘यो परियोजना निर्माणपछि एक हजार जनाका लागि रोजगारीको अवसर सिर्जना हुन्छ। २७ करोडदेखि ३५ करोड वार्षिक आम्दानी गर्न सकिन्छ।’
यो परियोजना निर्माणपछि ४५८ जना विद्यार्थी, १९३ जना प्राध्यापक र कर्मचारीका लागि आवास गृह पनि बनाउने योजना विश्वविद्यालयको छ। परियोजना निर्माण गर्न ९४६ जना दक्ष जनशक्ति, २६ हजार ८८९ जना निर्माण कामदार र २७२ जना विद्यार्थीले रोजगारी पाउने कार्ययोजनामा उल्लेख छ।
प्राज्ञिक थलो विश्वविद्यालयले व्यापार गर्न लागेको भन्दै कतिपयले आलोचना पनि गरेका छन्। त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति हिराबहादुर महर्जनले विश्वविद्यालयले प्राज्ञिक मुद्दा छोडेर अन्यत्र ध्यान दिनु उपयुक्त नहने बताए।
‘विश्वविद्यालयले त रिसर्च एण्ड डेभलपमेन्टमा ध्यान दिने हो। आफ्ना विद्यार्थीलाई तालिम दिने हिसाबले कुनै काम गरे ठिकै हो नत्र व्यापार गरेर नाफा कमाएर विश्वविद्यालय सञ्चालन गर्ने मोडल त्यति प्रभावकारी हुन्छ कि हुँदैन अध्ययन नै गर्नुपर्छ। कतै नभएको नयाँ प्रयोग विश्वविद्यालयमा भन्दा पनि अन्य कतै सानो मोडलमा लगेर यसलाई प्रयोग गर्न सकिन्छ। विश्वविद्यालयलाई आत्मनिर्भर बनाउने भन्दा पनि खोज अनुसन्धानमा नै जोड दिनुपर्छ,’ उनले भने। विश्वविद्यालयले आफ्नो उद्देश्य अनुसार काम गर्न नसकिरहेको अवस्थामा यस्ता गतिविधिले विश्वविद्यालयको गरिमालाई नै ठेस पुर्याउन सक्ने उनको भनाइ छ।

प्राज्ञिक थलो विश्वविद्यालयले व्यापार गर्न लागेको भन्दै कतिपयले आलोचना पनि गरेका छन्। 
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति सिंह भने विश्वविद्यालयको आन्तरिक काम चुस्त बनाउन इन्टरनल अडिटलाई प्रभावकारी बनाउँदै बेरुजु घटाएर शून्यमा झार्न र विश्वविद्यालयलाई आर्थिक रुपमा सवल बनाउन काम अघि बढिसकेको बताउँछन्। उनले भने, ‘हामीले स्रोत जुटाउनका लागि काम सुरु गरिसकेका छौं। अनुदानबाट मात्र विश्वविद्यालय सञ्चालन गर्न सम्भव छैन। यसलाई आत्मनिर्भर बनाउन परियोजनालाई अघि बढाउने हाम्रो लक्ष्य छ। विश्वविद्यालयले व्यापार गरेर आर्थिक उपार्जन गर्न सक्छ भन्ने देखाउन चाहन्छौं।’
उपकुलपति सिंह कुलपति तथा प्रधानमन्त्री देउवासमक्ष ८७ जना शिक्षक–कर्मचारीको दरवन्दी स्वीकृत गर्नुपर्ने, विश्वविद्यालयका दुर्गममा कार्यरत कर्मचारीले दुर्गम भत्ता नपाएकाले राज्यले दुर्गम भत्ता उपलब्ध गराउनुपर्ने लगायतका माग राखेका छन्। त्यसैगरी स्मार्ट पूर्वाधार निर्माण अन्तर्गत मुलुकभर प्रयोगशाला, पुस्तकालय भवन, परीक्षा व्यवस्थापन कार्यालय भवन, केन्द्रीय व्यवस्थापन क्याम्पसको भवन, कर्णाली बायोडाइभर्सिटी भवन निर्माण गर्ने विषय पनि विश्वविद्यालयको नीति तथा कार्यक्रममा छ।  विश्वविद्यालयले पाठ्यक्र परिमार्जन गर्दै ५० देखि ७० प्रतिशत अन्तर्राष्ट्रिय, १० देखि २० प्रतिशत राष्ट्रिय, २० देखि ३० प्रतिशत स्थानीय पाठ्यक्रममा समावेश गरी सैद्धान्तिक ४० प्रतिशत र प्रयोगात्मक ६० प्रतिशत बनाउन लागिएको जनाएको छ।

विश्वविद्यालयले यसै वर्षदेखि बीएससीएजी, हेल्थ साइन्स अन्तर्गत बीपीएच, योगा एण्ड स्पोर्टस लगायतका नयाँ विषय थप गर्ने र रिसर्च एण्ड डेभलपमेन्ट सेन्टर र छात्रावास सञ्चालन गर्ने तयारी गरेको छ।
विश्वविद्यालयले आईटीतर्फ जनशक्ति उत्पादन गर्ने उद्देश्यले एमआईटी र इन्जिनियरिङतर्फ हाइडाेपावर इन्जिनियरिङका लागि ४८ सिट अध्यापनको लागि स्वीकृति प्राप्त गरिसकेको छ।
प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवाले पनि उच्च शिक्षालाई वैज्ञानिक, व्यावहारिक, रोजगारमूलक, नवप्रवर्तनात्मक र गुणस्तरीय बनाउन मध्यपश्चिम विश्वविद्यालयलाई अगाडि बढाउने बताएका छन्। मुलुकको समग्र विकासलाई दिशाबोध गर्न विश्वविद्यालयलको पाठ्यक्रममा समसामयिक परिमार्जन गर्दै दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने उनको भनाइ छ।
यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूबीच सहकार्य गरी उच्च शिक्षालाई वैज्ञानिक, व्यावहारिक, रोजगारमूलक र गुणस्तरीय बनाउनुपर्नेमा उनले जोड दिएका छन्। धानमन्त्री देउवाले कोभिड–१९ को महामारीका कारण नेपाललगायत विश्व समुदायका सबै क्षेत्र प्रभावित भएको विषम परिस्थितिमा समेत अनलाइन तथा वैकल्पिक माध्यमबाट अध्ययन अध्यापन क्रियाकलाप गर्दै परीक्षासमेत सञ्चालन गरेकोमा विश्वविद्यालयको प्रसंसा गरेका थिए।
कर्णाली प्रदेशको समग्र विकासका लागि विद्यमान प्राकृतिक सम्पदा, परम्परागत ज्ञान र सीपहरुको अध्ययन, अनुसन्धान तथा बजारीकरण गरी जनताको जीवनस्तर माथि उठाउन प्राविधिक र व्यावसायिक दक्ष जनशक्ति उत्पादन गर्न केन्द्रित हुने विश्वविद्यालयले जनाएको छ। प्रधानमन्त्री देउवाले विश्वविद्यालयलाई‘सेन्टर अफ एक्सिलेन्स’का रूपमा विकास गर्न वर्तमान नेतृत्वलाई आवश्यक कार्ययोजना बनाई अगाडि बढ्न अनुमति दिएका छन्।यो समाचार नेपाल समय बाट साभार

तपाईको प्रतिक्रिया