सुर्खेत / नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियूले कालापानी,लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई पनि जनगणनामा समेट्न माग गरेको छ ।
अध्यक्ष सुनिता बरालले एक विज्ञप्तिमार्फत केपी ओली नेतृत्वको सरकारले ती क्षेत्र समेटेर नयाँ नक्शा जारी गरेको भएपनि वर्तमानको सरकारले उक्त नेपाली भूमीमा गणकहरु अहिलेसम्म नपठाएकोप्रति गम्भीर असहमति जनाउनुभएको छ ।
‘सन् १८१६ मार्च ४ मा ब्रिटिश, भारत र नेपालबीच भएको सुगौलीसन्धि र अन्य महत्वपूर्ण ऐतिहासिक दस्ताबेजहरूले समेत उक्त क्षेत्र नेपालको भएको पुनर्पुष्टी गर्दा समेत यो परमादेशी सरकारले उक्त क्षेत्रको जनगणनाका विषयमा गाम्भिर्यता नदेखाउँदा सरकारको नियतमाथि नै प्रश्न उठेको छ’,विज्ञप्तिमा भनिएको छ,‘कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा तत्काल सुपरिवेक्षक र गणकहरू पठाउँदै हाम्रो नेपाली भू-भागमा जनगणना कार्य तत्काल अगाडि बढाउन हामी जोडदार माग गर्दछौं ।’
सङ्गठनले नेपालीहरू दसैँ-तिहार र छठ जस्ता ठूला पर्वको मुखमा बजारमा कालो बजारी बढेको र बसपार्कमा टिकटको कालोबजारी खुल्लमखुल्ला भइरहेको भन्दै सरकारले यसको नियन्त्रणका लागि कुनै काम उल्टै पुँजीपतिको पक्षपोषण गरेको जनाएको छ ।
‘यस्ता दैनिक उपभोग्य वस्तुको कालोबजारी निर्मूल गर्न,नियन्त्रण गर्न, अनुगमन गर्न र तत्काल संयन्त्र बना कालोबजारी गर्नेहरूलाई कडा भन्दा कडा कारबाहीको माग गर्दछौ’,विज्ञप्तिमा भनिएको छ ।
सङ्गठनले सरकारले सार्वजनिक यातायातको भाडा ३५ प्रतिशतले वृद्धि गरेको र जसकारण सर्वसाधारणहरू मर्कामा परेको भन्दै उक्त भाडादर तत्काल घटाउन माग गरेको छ ।
तुलराज पाण्डे । २१ आश्विन २०७८, बिहीबार १८:३९