नेपाल राष्ट्रिय स्वास्थकर्मी संघ सुर्खेतको भेला सम्पन्न

सुर्खेत/चौकुने गाउँ पालिकामा नेपाल राष्ट्रिय स्वास्थकर्मी संघ सुर्खेतको भेला, प्रशिक्षण तथा संगठन प्रवेश कार्यक्रम सम्पन्न भएको छ।

शनिबार सम्पन्न भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सुर्खेतका अध्यक्ष एवम् प्रतिनिधि सभाका सदस्य धुर्वकुमार शाहीले चौकुने गाउँ पालिकाका गगन पाण्डे, डिल्ली घिमिरे र मोती विक लगायत ३८ जना स्वास्थ्यकर्मीहरुलाई एमाले निकटको स्वास्थ्यकर्मी संघमा प्रवेश गराउँदै एमाले पार्टीले स्वास्थ्य सुधारका लागि वनाएको योजना र कार्यान्वयनको पक्षवारेमा व्याख्या गरेका थिए।

शाहीले पार्टी विभाजनले सामान्य असर गरेपनि यसको क्षतिपूर्ति अन्य पार्टीवाट गरिएको वताए। ‘देशभर एमालेको पक्षमा जनलहर देखिएको छ, यसको सहि व्यवस्थापन आजको चुनौती हो,’ कांग्रेस र माओवादी निकट रहेका चौकुने गाउँ पालिकाका ३८ जना स्वास्थ्यकर्मीहरुलाई एमाले निकटको नेपाल स्वास्थ्यकर्मी संघमा प्रवेश गराउँदै शाहीले भने, ‘हामीले अब हुने तीनवटै तहका निर्वाचनमा भारी वहुमत ल्याउने छौ।’

उक्त कार्यक्रममा बिशेष अतिथि एवम् स्वास्थ्यकर्मी संघका केन्द्रीय उपाध्यक्ष रामबहादुर चन्दले नेपाल स्वास्थ्यकर्मी संघले नेतृत्वदायी भूमिका खेलेकोले आफ्नो संगठन प्रती आकर्षण वढेको दावी गरे।

नेकपा एमाले चौकुने गाउँ पालिका कमिटीका अध्यक्ष हरिप्रसाद अधिकारीले देशभरका पेशागत संघ संगठनहरुमा एमालेका दवदवा रहेको वताए।

चौकुने गाउँ पालिकाका अध्यक्ष धिरबहादुर शाहीले आफ्नो पालिकामा एमाले निकट स्वास्थ्यकर्मी संगठनमा आवद्ध हुनेहरुको संख्या अव ९० प्रतिशत नाघेको दाबी गरे। उनले कसैलाई काँखा र पाँखा नगरी सवैलाई समान अवसर दिने प्रतिवद्धता जनाए।

कार्यक्रममा उक्त पालिकाका उपाध्यक्ष निर्मला मगर, नेपाल स्वास्थ्यकर्मी संघ कर्णाली प्रदेश कमिटी सचिव सुशील शाही, संघका प्रदेश र जिल्ला कमिटीका पदाधिकारी एवम् सदस्यहरु, एमालेका स्थानीय नेताहरू कासिराम देबकोटा लगायतले संवोधन गरेका थिए।

स्वास्थ्यकर्मी संघमा प्रवेश कार्यक्रममा चौकुने पालिकाका गगन पाण्डे, डिल्ली घिमिरे, मोति बिक लगायत ३८ जना प्रवेश गरेका छन्। नव प्रवेशी गगन पाण्डेले नेपाली कांग्रेस निकटको स्वास्थ्यकर्मी संघको क्षेत्रीय सभापति पद छोडेर एमाले निकटको संघमा प्रवेश गरेको जानकारी गराईएको थियो। कार्यक्रम पछि उनकै अध्यक्षतामा १५ सदस्यीय नेपाल स्वास्थ्यकर्मी संघ चौकुने पालिका कमिटी गठन भएको छ।

उक्त कार्यक्रमको अध्यक्षता स्वास्थ्यकर्मी संघ सुर्खेतका अध्यक्ष अम्मर रानाले गरेका थिए भने स्वागत संघका उपाध्यक्ष हस्तराज गिरीले गरेका थिए। कार्यक्रमको संचालन कर्ण आचार्यले गरेका थिए।

तपाईको प्रतिक्रिया