कालिकोट । नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी)कालिकोटले करिब ७० लाखमा निर्माण सम्पन्न हुनेगरी शुक्रबार सदरमुकाम मान्ममा कार्यालय भवनको शिलान्यास गरेको छ ।
मनमोहन स्मृति भवनको रुपमा मनमोहन स्मृति प्रतिष्ठान कालिकोट मार्फत भवन निर्माण गरि पार्टी कार्यलयको दैनिक कामकाज सञ्चालनमा ल्याइने भएको हो । जिल्ला कमिटी सचिव चित्रसिंह गाउँलेको अध्यक्षता र संविधानसभा सदस्य तुलाराज बिष्टका साथै कर्णाली प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री कुर्मराज शाहीको विशेष उपस्थितिमा भएको शिलान्यास समारोहलाई सम्बोधन गर्दै संविधानसभा सदस्य बिष्टले आफ्नो व्यक्तिगत घर बनाउने भन्दापनि आफ्नै प्यारो पार्टीको भवन बनाउनु उचित हुने सोचले आफू सभासद हुँदा जग्गाको व्यवस्था गरिएको बताउनुभयो ।
यसैगरी मन्त्री कुर्मराज शाहीले आफुले पाउने व्यक्तिगत सेवा सुबिधा समेत कार्यालय भवन निर्माणमा केन्द्रित गरेर भएपनि समयमै कार्यालय भवन खडा गर्ने प्रतिबद्धता जनाउनुभयो ।
पार्टीका जिम्मेवार नेता तथा कार्यकर्ताको साथै शुभेच्छुक , समर्थक उधोगी व्यापारी,शिक्षक,कर्मचारी सबैबाट स्वैच्छिक सहयोग र केही सरकारी तथा गैर सरकारी निकायबाट पनि स्वैच्छिक सहयोग जुटाउदै भवन निर्माण गरिने मनमोहन स्मृति प्रतिष्ठान कालिकोटका अध्यक्ष चन्द्रबहादुर शाहीले जानकारी गराउनुभयो । करिब ६ महिनाभित्रै कार्यालय भवन निर्माण गरेर सञ्चालनमा ल्याउने अठोटका साथ पार्टी र प्रतिष्ठानको समन्वयमा आर्थिक नीति तय गरीने पार्टी सचिव चित्रसिंह गाउँलेको भनाइ थियो ।
संविधान र हालसम्मका आम उपलब्धि मास्न खोज्ने प्रतिगामीहरु बाट अलग भई देश र व्यवस्थाको रक्षा गर्ने पार्टीको कार्यालय शिलान्यासमा जुट्न पाउँद आम नेता तथा कार्यकर्तामा उत्साह जागेको सचिव गाउँलेको भनाइ थियो ।
नेकपा(एकीकृत समाजवादी)कालिकोटद्वारा ७० लाखमा बन्नेगरी कार्यालय भवनको शिलान्यास
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । ८ आश्विन २०७८, शुक्रबार १६:०९