सुर्खेत विमानस्थल विस्तार गर्न प्रदेश र संघीय सरकारबीच समझदारी

दियो खबर संवाददाता सुर्खेत ।लामो प्रतिक्षापछि सुर्खेत विमानस्थलको विस्तार हुने भएको छ । ठूला जहार अवतरण गर्न मिल्नेगरी विमानस्थल विस्तार गरिने भएको हो । यसका लागि विमानस्थल विस्तार र स्तरोन्नतिको लागि बिहीबार नेपाल सरकार र कर्णाली प्रदेश सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।हाल विमास्थलको धानवमार्ग साँघुरो हुँदा ठूला जहाज अवतरण हुन सकेका छैनन् । जसका कारण कर्णालीवासीले महंगो भाडा तिर्नुपर्ने र नेपालगञ्जबाट काठमाडौँ जानुपर्ने बाध्यता छ । यही समस्या समाधानका लागि कर्णालीको राजधानीमा रहेको सुर्खेत विमास्थललाई विस्तार गर्न लागिएको हो । विमानस्थल विस्तारका लागि अब कर्णाली प्रदेश सरकार र संघीय सरकारको संयुक्त लगानी गर्ने छन् । संयुक्त लगानी गर्ने समझदारी भएसँगै अब यो विमानस्थल विस्तार हुने पक्का भएको हो । विमानस्थल विस्तार भएमा कर्णालीको काठमाडौँसँग सिधा हवाई सम्बन्ध कायम हुनेछ भने ठूला जहाज चढ्ने कर्णालीवासीको सपना पनि चाँडै पुरा हुने देखिएको हो ।

विमानस्थल विस्तार र स्तरोन्नतिको लागि बिहीबार नेपाल सरकार र कर्णाली प्रदेश सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र पर्यटन सचिव केदार अधिकारीको रोहवरमा कर्णाली प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव घनश्याम उपाध्याय र संघीय सरकारका तर्फबाट नागरिक उड्डयन् प्राधिकरणका महानिर्देशक राजन पोख्रेलले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । आन्तरिक उडानमा प्रयोग भइरहेका सबै प्रकारका ठूला जहाज अवतरण गर्न सक्नेगरी क्षेत्रीय हब विमानस्थलका रुपमा सुर्खेत विमानस्थलको स्तरोन्नती गरिने छ ।

नेपाल सरकार र कर्णाली प्रदेश सरकारबीच लागत साझेदारी अवधारणा अन्तर्गत सुर्खेत विमानस्थल विस्तार र स्तरोन्नति गर्न सम्झौता भएको पर्यटन मन्त्रालयले जानकारी दिएको छ । आयोजनाका लागि आवश्यक जग्गा अधिग्रहण, रनवे विस्तार, टर्मिनल भवन निर्माण र अन्य आवश्यक विकास निर्माण कार्य गराउन कर्णाली प्रदेश सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरण बीच सम्झौता भएको हो ।

तपाईको प्रतिक्रिया