सुर्खेत/ नेकपा(एमाले)जिल्ला कमिटी जुम्लाको सिंगो पार्टी कमिटीनै नेकपा(एकीकृत समाजवादी)मा रुपान्तरित भएको जुम्लामा एकीकृत समाजवादीले पत्याउनै नसकिने मानवसागर प्रदर्शन गरेको छ ।
बाढी पहिरोका कारण ठाउँ ठाउँमा सडक अवरोध भएका कारण कैयौं गाडी कार्यक्रम स्थल सदरमुकाम खलंगा पुग्न नसकेपनि एकीकृत समाजवादीले शनिबार करिब ५ हजार समर्थकहरु सडकमा देखाएको हो ।
” केपी तेरा पाराले – एमाले छोडे साराले ” भन्ने नारासहित सडकमा देखिएको प्रदर्शनलाई देखेर जुम्लाका अन्य दलका नेता तथा कार्यकर्ता चकित परेका थिए । जिल्ला कमिटीको पार्टी कार्यालय उद्घाटन सहित करिब १ घण्टा बजार परिक्रमा गरेको जुलुस कार्यक्रममा परिणत हुदा डेढ सय जना अन्य पार्टीका कार्यकर्ताले नेकपा(एकीकृत समाजवादी)मा प्रवेश गरेका थिए ।
जुम्लाको मानवसागर लाई सम्बोधन गर्दै एसमाजवादी कर्णाली प्रदेशका इन्चार्ज प्रकाश ज्वालाले जुम्ला साँच्चै आफ्नो पार्टीको लालकिल्ला भएको घोषणा गर्नुभयो । दम्भी,अहंकारी र प्रतिगमनकारी केपी पक्षलाई बडार्न सफल भएकोमा जुम्लाबासीलाई बधाई दिदै इन्चार्ज ज्वालाले देशैभरी एमालेको हविगत जुम्लाको जस्तै बनाइने दाबी गर्नुभयो ।
जुम्लाका वरिष्ठ नेता पूर्व सांसद देवीलाल थापा, कर्णाली प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री कुर्मराज शाही र प्रदेशसभा सदस्य पदमबहादुर रोकायाको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै नेताहरुले अब जुम्लामा एमालेलाई टर्च बालेर खोज्नुपर्ने अवस्था सिर्जना गरिने ठोकुवा गरेका थिए ।
पार्टी अध्यक्ष तिर्थबहादुर बुढाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कालिकोटका पार्टी सचिव चित्रसिंह गाउँले,निजामती कर्मचारीका केन्द्रीय नेता जीवन भण्डारी र शिक्षक नेता हरिकृष्ण महतका साथै युवा नेता मनोज खत्रीले सम्बोधन गरेका थिए भने कार्यक्रम जुम्ला जिल्ला सचिव आदि न्यौपानेले सञ्चालन गर्नुभएको थियोे ।
एमाले रित्तिएको जुम्लामा नेकपा एकीकृत समाजवादीले देखायो मानवसागर
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । २७ भाद्र २०७८, आईतवार १०:०९