बेरुजु रकम तथा एमसीसी सम्झौताविरुद्ध कालिकोटमा बिरोध प्रदर्शन

सुर्खेत /नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपाल कालिकोटले बेरुजु रकम तथा एमसीसी सम्झौताविरुद्ध मंगलबार कालिकोटको मान्ममा बिरोध प्रदर्शन गरेको छ ।

२०७८ को बेरुजु रकम तथा एमसीसी सम्झौताको विरुद्धमा आयोजित बिरोध कार्यक्रम र्यालिसहित प्रतिमा चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

बिरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै कालिकोट र जुम्ला जिल्ला इन्चार्ज तथा नेकपाका केन्द्रीय सदस्य बिराटले देउवा सरकारको गृह प्रशासनले अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध जनतालाई आतङ्कित पार्ने गरि जारी गरिएको विज्ञप्तिदेखि आफ्नो पार्टी नडराउने बताउनुभयो। उहाँले आफूहरू निरन्तर जेल, हिरासत भोगेर आएको समेत बताउँदै अहिले पनि देश र जनताका खातिर बलिदान गर्न तयार रहेको बताउनुभयो ।

एमसीसी सम्झौतामार्फत अमेरिकी साम्राज्यवादले नेपाललाई उपनिबेश बनाउन खोजेको नेता बिराटकाे भनाई थियो । नेता बिराटले देश बेच्ने दलालहरूले दिने आदेशका विरुद्ध सुरक्षा निकायका सेना, प्रहरीले पनि बिद्रोह गर्नुपर्ने बेला आएको उद्घोष गर्नुभयो । नेता बिराटले महालेखा परिक्षकको बेरुजु रकमको सत्यतथ्य सार्वजनिक गर्न माग समेत गर्नुभयो ।

यस्तै जिल्ला सेक्रेटरी रणदिपले रास्ट्रघाती एमसीसी सम्झौता पास गर्न खोजे जस्तोसुकै कदम चाल्न बाध्य हुने बताउनु भयो । उहाँले मातृभूमिमाथि अमेरिकी साम्राज्यवादको आतङ्कको विरुद्ध आफूहरू जेल, हिरासत मात्रै नभई आवश्यक परे बलिदान गर्न पनि पछि नहट्ने बताउनु भयो ।

नेकपा माओवादी केन्द्र समाजवादीका नेता सागरले नेपाल सरकारले नियतबस वा वैदेशिक दबाबमा एमसीसीजस्तो राष्ट्रघाती सहमति संसद्बाट पारित गर्ने कोसिस गर्दैछ यसप्रकारको सहमति तत्काल खारेज गर्नुको सट्टा संसद्बाटै पास गराउनु नेपाली राजनीतिक इतिहासमा सबैभन्दा ठूलो भूल र कलङ्क हुनेछ । यसको विरोध सबै राष्ट्रवाद शक्तिहरू लाग्नुपर्ने बताउनुभयो ।

विरोध सभालाई सम्बाेधन गर्दै युवा संगठन नेपाल कालिकोटका अध्यक्ष गाेविन्द बुढाले एमसीसी सम्झौतामा हस्ताक्षर गर्ने सांसदलाई गाउँ–गाउँबाट कालोमोसो दलेर कारवाही गर्ने चेतावनी दिए । ५५ अर्बमा देश बेच्ने दलालहरूका विरुद्ध निर्मम सङ्घर्ष गर्नुपर्ने समेत बताउनुभयो ।

यस्तै जिल्लाको नरहरिना गाउँपालिकाे माल्काेटमा पनि नेकपा बेरुजु रकम तथा एमसीसी सम्झौताविरुद्ध प्रदर्शन गरेको गाउँ कमिटी इन्चार्ज शाहसिले बताउनुभयो ।

तपाईको प्रतिक्रिया