सुर्खेत/नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी)कालिकोटका सचिव चित्रसिंह गाउँलेले कम्युनिस्ट आन्दोलनमा देखा परेका नवकलंकहरु सँग बसिराख्न नसकेर छुट्टिनुपर्ने बाध्यता आइलागेको दाबी गर्नुभएको छ।
सचिव गाउँलेले सो पार्टीको खाँडाचक्र नगर कमिटीद्वारा आज पाखाँ गाउँमा आयोजित वडा-८ र ९ का कार्यकर्ताहरुको संयुक्त भेलालाई सम्बोधनका क्रममा सो दाबी गर्नुभएको हो । २०१७ सालमा केशरजंग रायमाझी जागेजस्तै २०७७ सालदेखि केपी ओलीपनि नवकलंक बनेर उदाएको कारण आफुहरुले विद्रोह गरि नयाँ पार्टी बनाएको उहाँको भनाई थियोे ।
” नवकलंकहरुका कारण हामी आफ्नै पार्टी भित्र परेको ठूलो अन्यायलाई खेप्न नसकेर न्याय माग्न तपाईंहरुका माझ आएका छौँ । अब आउने निर्वाचन मार्फत दम्भीर अहंकारीलाई पत्तासाप गरि हामीलाई न्याय दिने विश्वास लिएका छौँ “सचिव गाउँलेले भन्नुभयो ।
कार्यक्रममा नेताहरु रामबहादुर बिष्ट,आदीचन्द्र चौलागाईं,मदन चौलागाईं सम्बोधन गरेका थिए । केपी ओलीलाई बालुवाटार देखि बालकोटको बार्दलीमा भगाएझैं स्थानीय स्तरका गलत कसिंगरहरुपनि बढार्नुपर्ने अवस्था आएको उहाँहरुको धारणा थियोे ।
खाँडाचक्र नगरपालिका-९ का जिम्मेवार नेता बिरजित बिष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई नगर कमिटी अध्यक्ष कृष्णबहादुर मल्लले सञ्चालन गर्नुभएको थियोे । भेलाले खाडाँचक्र नगरपालिका-८ मा नवराज मल्ल अध्यक्ष र विष्णु चौलागाईं सचिव तथा वडा नं ९ मा बिरजित बिष्ट अध्यक्ष र मनऋषि अधिकारी सचिव रहेका ३५ सदस्यीय वडा कमिटीहरु घोषणा गरेको छ ।
नवकलंकहरु सँग छुट्टिनुपर्ने बाध्यता आइलाग्यो- नेता गाउँले
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । २१ भाद्र २०७८, सोमबार २२:३२