रुकुमको सिङ्गो एमाले एकीकृत समाजवादीमा समाहित

सुर्खेत /नेकपा (एमाले) रुकुम पश्चिमको सिङ्गो जिल्ला कमिटी नयाँ दल नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ । हिजो सदरमुकाम खलंगामा बसेको जिल्ला कमिटीको बैठकबाट अध्यक्ष बिमलकुमार पुनसहित सिंगो पदाधिकारी एकीकृत समाजवादीको कित्तामा स्पष्ट भएका हुन् ।

बैठकमा ६० जनामध्ये ४६ जनाले आफूलाई समाजवादीको लाइनमा उभ्याउने निर्णय गरेका हुन् । अध्यक्ष पुनका अनुसार एमाले सचिव हरिप्रसाद शर्मा,उपसचिव माधव गौतमलगायत झण्डै ७५ प्रतिशत कमिटी सदस्यहरुले एकीकृत समाजवादी रोजेका हुन् । उपाध्यक्ष ऋषिप्रसाद शर्मा भने हालसम्म कुनै पनि पक्षमा नखुलेको समेत बताइएको छ ।

एमालेको सातौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीसहित ६५ जना जिल्ला कमिटीका सदस्यमध्ये ४६ जनाले नेकपा एकीकृत समाजवादी रोजेका हुन् । पाँच जना जिल्ला कमिटी सदस्य यसअघि नै माओवादी केन्द्रमा गएका र बाँकी १४ जना एमालेमा रहेका छन् ।

रुकुम पश्चिमबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्नुभएका सांसद ठकेन्द्रप्रकाश पुरी र कर्णाली प्रदेश सांसद देवी ओली एकीकृत समाजवादीमा लाग्नुभएको हो ।

औपचारिक रुपमा एकीकृत समाजवादी पार्टीको जिल्ला कमिटी गठनसँगै रुकुम पश्चिमको जिल्ला कमिटी मुसिकोटको कालिका मन्दिरमा समेत स्थापना गरिएको छ । शनिबार एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य शेरबहादुर केसीले उक्त कार्यालय उद्घाटन गर्नुभएको छ ।

नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटीको पहिलो बैठकले १ सय ६ जनाको जिल्ला कमिटी चयन गरेको छ । बैठकले जिल्लाका सबै पालिकामा पार्टी निर्माणका लागि कार्यकर्ता भेला र कमिटी निर्माणलाई तीब्रता दिने निर्णय समेत गरेको बताइएको छ ।यो समाचार जन आस्था मा छ

तपाईको प्रतिक्रिया