कालिकोट । कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले आफुहरुलाई फ्लोर क्रस गर्न सुरेन्द्र पाण्डे,घनश्याम भुसाल र योगेशकुमार भट्टराईले लगाएको दाबी गर्नुभएको छ ।
नेकपा(एकीकृत समाजवादी)पार्टीले आज कालिकोटमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्ने क्रममा मन्त्री शाहीको सो दाबी गरेका हुन् । मन्त्री शाही सुरेन्द्र पाण्डे,घनश्याम र योगेश भट्टराईले केपी ओलीको दम्भ र अहंकारका बिरुद्ध फ्लोर क्रस गरेर भएपनि अघि बढ्नुस् भन्दै बारम्बार दबाब दिएको बताउनुभयो । माधव नेपाललाई पटकपटक उक्साएर पार्टीलाई यो अवस्थामा पुर्याउने पनि उहाँहरुनै जिम्मेवार रहेको मन्त्री शाहीको भनाइ थियोे ।
संविधानसभा सदस्य तथा नेकपा (एकीकृत समाजवादी ) का नेता तुलाराज बिष्टले पटकपटक प्रधानमन्त्री र पटकपटक राष्ट्रपति आफै भएरपनि मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्ने केपी ओली र बिधा भण्डारी कम्युनिस्ट नभएको आरोप लगाउनुभयो । पार्टी अध्यक्ष विश्वराज वमको अध्यक्षतामा सम्पन्न भेलालाई नेताहरु बिजया बिष्ट, चित्रसिंह गाउँले,कमलबहादुर शाही,चन्द्रबहादुर शाहीका साथै नरहरिनाथ गाउँ पालिका अध्यक्ष धिरबहादुर बिष्ट र शुभकालिका गाउँ पालिका अध्यक्ष खडानन्द चौलागाईं लगाएतले सम्बोधन गरेका थिए । भेलाले तत्कालीन नेकपा(एमाले)मा समानान्तर कमिटीको रुपमा रहेका पार्टी र वर्गीय संगठनका जिल्ला कमिटीहरुलाई नेकपा(एकीकृत समाजवादी)का कमिटीमा रुपान्तरण गरिएको घोषणा गरेको छ । कालिकोटको सो कार्यक्रममा २०६५ जेठ २ गते अघि नेकपा(एमाले)जिल्ला कमिटीमा रहेका ६८ जना मध्य ३९ जना जिल्ला कमिटी सदस्यहरुका साथै सयौंको सहभागिता रहेको थियो ।
कर्णालीमा फ्लोर क्रस गराउने सुरेन्द्र पाण्डेहरु हुन् – मन्त्री शाही
तपाईको प्रतिक्रिया
दियो खबर । ११ भाद्र २०७८, शुक्रबार १९:४०