कर्णाली स्वास्थ्य प्रतिष्ठानमा गर्धन र मेरुदण्डको सफल शल्यक्रिया

जुम्ला।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलो पटक गर्धन (घाँटी)को मेरुदण्डको सफल शल्याक्रिया भएको छ। भर्‍याङबाट खसेर गर्धनको मेरुदण्ड भाँचिएका जुम्ला तिला गाउँपालिका ७ घोडिसम गाउँका लोकबहादुर रोकायाको सफल शल्याक्रिया भएको हो। 
हाडजोर्नी विशेषज्ञ डा पुजनकुमार रोकायाको नेतृत्वमा डा अर्जुन तिवारी, निराजन महासेठ र डा रमेश भट्टाइको टोलीले सफल शल्याक्रिया गरेको हो। 
लोकबहादुरका बुवा खुमिलालले भने, ‘अस्पताल ल्याउने बेलामा छोराको दायाँ हात र दायाँ खुट्टा चल्दैनथ्यो। राम्रोसित बोल्न सक्दैनथ्यो। छोरा बाँच्दैन जस्तो लागेको थियो। आशा मारिसकेका थियौँ। तर कर्णाली अस्पतालका डाक्टर’साबले छोरो बचाइदिनुभयो।’
उनले उपचारका लागि कर्णाली प्रतिष्ठानमा नल्याएको भए छोरो जीवनभर अपांग भएर बस्नुपर्ने या त जीवन नै तलमाथि हुनसक्ने अवस्था रहेको बताए।
जेठ ३ गते अस्पताल भर्ना भएका लोकबहादुर उपचारपछि अहिले हिँड्डुल गर्न सक्ने भएका छन्। बोल्न सक्छन्। लोकबहादुरले भने,‘कर्णाली अस्पताल नआएको भए जीवन नै बर्बाद हुने थियो। चिकित्सकको अथक मेहनतका कारण आफ्नो जीवन बाँचेको भन्दै निकै खुशी भए।’
लोकबहादुरले भर्‍याङबाट खसेपछि गाउँको मेडिकलमा तीन दिन उपचार गराएका थिए।  मेडिकलले दिएको औषधि प्रयोग गरे।
‘सुई लगाइदिएको थियो। त्यहाँ सुधार नहुने भएपछि प्रतिष्ठानसम्म ल्यायौँ। सुरुमा त छोरा बाँच्छ जस्तो लागेको थिएन। बाँचेको खण्डमा पनि अपांग हुन्छ जस्तो थियो। तर पहिलेको अवस्थामा फर्किएको देख्दा निकै खुसि छु’ खुमिलालले भने।
हाडजोर्नी विशेषज्ञ डा रोकाया यो जुम्ला अस्पतालको लागि निकै जटिल र ठूलो शल्यक्रिया भएको बताउँछन्। उनले भने,‘कर्णाली अस्पतालमा घाँटीको मेरुदण्डको अप्रेशन भएको थिएन। यो पहिलो हो। निकै जटिल शल्याक्रिया गरेर बिरामी निको भएका छन्। हामी यसैमा खुशी छौँ।’
उनका अनुसार कोरोना भाइरसको संक्रमणका कारण जिल्लामा निषेधाज्ञा लगाइएको थियो। बिरामीलाई एमआरआई गर्नु पर्ने थियो। कर्णाली अस्पतालमा एमआरआई छैन। बिरामीलाई बाहिरको अस्पतालसम्म पुग्न पनि कठिन हुने भयो। निकै ठुलो चुनौतिको सामाना गरेर बिरामीको सफल अप्रेशन भएको हो।
प्रतिष्ठानको शिक्षण अस्पतालमा निषेधाज्ञाका बीचमा हाडजोर्नीका ३८ अप्रेशन भएका छन्। जसमा २७ जना जुम्लाको र ११ जना कालिकोटका छन्। 
डा रोकायाले भने,‘यो अप्रेशनमा नर्सिङ, आइसीयू, एनस्थेसिया र रेडियोलोजी विभागले साथ दिएका थिए। उनीहरु सबै धन्यवादका पात्र हुन्।’
कर्णाली प्रतिष्ठानका प्रवक्ता डा भट्टराइले कर्णाली प्रतिष्ठानमा निकै महत्वपुर्ण शल्याक्रिया भएको बताए। उनले भने,‘यो शल्याक्रियाका बारेमा जनतासम्म सन्देश लैजान जरुरी छ। जतिसुकै जटिल शल्याक्रिया पनि जुम्लामा सम्भव छ।’यो समाचार स्वास्थ्य खबरपत्रिका बाट

तपाईको प्रतिक्रिया