दियो खबर संवाददाता
कालीकोट, २८ भदौ ।
कालिकोट जिल्ला मा विश्वमहामारीको रुपमा फैलिएको कोरना भाइरस (कोभिड-१९)कारण शैक्षिकसत्र नै धकेल्ने भएको छ।चैतदेखि विद्यालय नदेखेकी खाँडाचक्र नगरपालिका–४ ताडीकी ८ वर्षीया कोपिला विश्वकर्मा बिहीबार पाठ्य सामग्री पाउँदा खुसी भइन् । ३ कक्षामा अध्ययनरत कोपिलाले भनिन्, ‘दिउँसो भाइबहिनीलाई हेर्नुपर्छ, छकाल– बाहा (बिहान–बेलुकी) पढ्न पाइने भयो ।’ पुराना किताब च्यातिएकोले चैतपछि किताब देख्न नपाएको उनले बताइन् ।
कोरोना कहरका कारण विद्यालय बन्द भएपछि घरमै बसिरहेका बालबालिकालाई पठन सामग्री वितरण गरिएपछि उनीहरु खुसी भएका छन् । विद्यालय गएर पढ्न नपाए पनि घरमै नयाँ पुस्तक पाउँदा पढ्नतिर ध्यान गएको उनीहरुको भनाइ छ । नवज्योति आधार भूत विद्यालयमा अध्ययनरत कोपिलाले पुस्तकसँगै लेखन सामग्री पाएपछि खोलेर चित्र हेरेकी थिइन् । ‘चित्रमा साबुन– पानीले हातधुने तरिका लेखिएको रहेछ,’ उनले भनिन्, ‘तरकारी खेती, चाडपर्वका कुरा पनि लेखिएका रहेछन् ।’
खाँडाचक्र नगरपालिका र यूनिसेफको सहयोगमा बालविकास केन्द्रमा अध्ययनरत कक्षा ३ सम्म अध्ययनरत १ सय ४३ जनालाई सामग्री वितरण गरेको हो । प्रधानाध्यापक रामबहादुर बोगटीले विद्यालय बिदा भए पनि विद्यालयले टोलटोलमै पुगेर सामग्री वितरण गरेको बताए ।नगरपालिकाको नवज्योतिसहित पञ्चदेव मावि, चुलिमालिका मावि, कालिका मावि, मेघमति आवि, जनप्रभात मावि, लिगासैनी मावि, प्रगतिशील मावि, कुलदेव मावि, विजोशी मावि र कर्णाली माविको सेवा क्षेत्रका बालबालिकालाई सिकाइ सामग्री दिएको हो । खाँडाचक्रका नगर शिक्षा शाखा प्रमुख जसीप्रसाद चौलागाईँले घरमा पठनपाठनको वातावरण नभएका, पाठ्यसामग्री अभाव भएका बालबालिकालाई सिकाई सामग्री दिइएको बताए ।कोरोना कहरमा क्वारेन्टाइन बनाइएका रास्कोट नगरपालिकाका ९ विद्यालयमा पनि सिकाइ सामग्री दिइएको छ । महावै गाउँपालिकाका १८ वटा विद्यालयमा अध्ययनरत १ हजार ३ सय २९ जना बालबालिकालाई पनि झोलासहितका सिकाइ सामग्री उपलब्ध गराइएको स्रोतव्यक्ति परेकबहादुर शाहीले बताए । कालीकोटका ९ वटै स्थानीय तहमा रहेका ५६ विद्यालयलाई क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको थियो । शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख महेश देवकोटाका अनुसार अहिले सबै विद्यालयमा रहेका क्वारेन्टाइन हटाइसकिएका छन् ।
घरमै सिकाइ सामग्री
तपाईको प्रतिक्रिया
दियो खबर । २८ भाद्र २०७७, आईतवार ०९:१३