हजार रुपैयाँ घुस लिएको आरोपमा मुद्दा चलाएपछि आत्महत्या गरेका खरिदार अदालतबाट निर्दोष ठहर

दियो खबर संवाददाता
काठमाडौँ भाद्र २७
काठमाडौ जिल्ला एक हजार रुपैयाँ घुस लिएको अभियोगमा भ्रष्टाचार मुद्दा लागेका कलङ्की मालपोत कार्यालयका खरिदार रामहरि सुवेदीलाई विशेष अदालतले आरोपबाट सफाइ दिएको छ । अभियोग प्रमाणित हुन नसकेर सफाइ पाएको फैसला सुन्न नपाउँदै मुद्दा चलेर धरौटीमा छुटेको एक सातापछि उनले घरमै झुन्डिएर आत्महत्या गरेका थिए ।गत साउनमा कलङ्की मालपोतबाट ल्याइएको सिसिटिभी फुटेजको रेकर्डका क्रममा सुवेदीले सेवाग्राही कृष्णप्रसाद घिमिरेसँग एक हजार रुपैयाँ लिएको दृश्य देखिएको भन्दै अख्तियारले खरिदार सुवेदीलाई आयोगमा बोलाएको थियो । सिसिटिभी फुटेज विश्लेषण गर्दा कृष्णप्रसाद घिमिरेबाट १ हजार घुस लिएको भन्दै उनलाई अख्तियारमा हाजिर हुन बोलाएको थियो।बयानकै क्रममा साउन २२ गते हिरासतमा लिएको अख्तियारले ४० थुनेर ४१औँ दिनमा मुद्दा चलायो । मुद्दा दायर भएको रातसमेत अख्तियारमै बिताएर उनी भदौ ३१ गते धरौटीमा रिहा भए ।
छुटेको एक सातापछि सुवेदीले २०७६ असोज ६ गते भक्तपुरस्थित आफ्नै घरमा आत्महत्या गरे । पुस र फागुनमा दुई पटक सुनुवाइ गरेपछि विशेष अदालतले गत असार ३० गते घिमिरेलाई सफाइ दियो । फैसलाको पूर्ण पाठ भने सार्वजनिक भइसकेको छैन ।विशेष अदालतका सदस्यहरू चन्द्रबहादुर सारू र रवि शर्मा अर्यालको इजलासले आरोप पुष्टि हुन नसक्ने भन्दै सफाइ दिएको हो ।सुवेदीले घुस लिएको भनिएको रकम बरामद नभएको तथा घुस दिने भनिएका व्यक्ति उक्त कार्यालयका सेवाग्राही भएनभएकोबारे अख्तियारले अभियोगमा केही उल्लेख गर्न नसकेको फैसलामा उल्लेख छ।पछिल्ला केही घटनाक्रमहरूलाई केलाउँदा अख्तियारका अपरेसन र कामकारबाहीमाथि जनस्तरबाटै प्रश्न उठ्न थालेको छ । स–साना रकमका तल्लो तहका कर्मचारीहरूलाई थुन्ने तथा कारबाही चलाउने र ठुला भ्रष्टाचारका मुद्धाहरु तामेली राख्दै चोख्याउने गरेको आरोप अख्तियारमाथि छ । विगत केही वर्षयताका घटनाक्रमहरूले पनि यही देखाउँछ । त्यसो त निरोधात्मकतर्फ के गर्‍यो त भन्ने प्रश्न अर्को जवर्जस्तरुपमा खडा भएको छ।

तपाईको प्रतिक्रिया