‘मेरो नाममा कसले कारोबार गर्‍यो, मलाई जानकारी छैन’

भैरहवा। बुटवलस्थित सुप्रिम सहकारीको बचत अपचलनमा अभियुक्त बनाइएका दीपेशकुमार पुनले पनि आफूले सहकारीबाट कुनै रकम नलिएको र कसैले आफ्नो नाम दुरुपयोग गरेको भए जिम्मेवार नहुने बयान दिएका छन् ।

सहकारीबाट १४ करोड ल्याउने गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्धन निर्देशक तथा गृहमन्त्री रवि लामिछानेले पनि सार्वजनिक रूपमा यस्तै प्रतिक्रिया दिँदै आएका छन् ।

‘मेरो नाममा कसले कारोबार गर्‍यो, मलाई जानकारी छैन’

सुप्रिम सहकारीका १ हजार ८ सय ३१ बचतकर्ताले आफ्नो पसिनाको बचत हिनामिना गरिएको भन्दै जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय बुटवलले अनुसन्धान गरेको थियो । प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले २८ जनालाई प्रतिवादी बनाई सोमबार जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

जीबी राई अध्यक्ष हुँदा सचिव र कोषाध्यक्षसमेत रहेका दीपेशले सहकारीमा आफू सेयर सदस्य नरहेको र आफ्नो नाममा भएको खातामा देखिएको रकमका बारेमा कुनै जानकारी नभएको दाबी गरेका छन् । सुप्रिम सहकारीबाट तीन लाख रुपैयाँ लिएको पेस्की भौचरमा दीपेश पुन मात्रै उल्लेख भएको र आफ्नो नाम दीपेशकुमार पुन रहेकाले आफ्नो संलग्नता नरहेको उनको दाबी छ । ‘मैले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट पेस्की रकम तीन लाख रुपैयाँ लिएको होइन । उक्त पेस्की भौचरमा बुझिलिनेमा भएको दस्तखत मेरो होइन । पेस्की भौचरमा भएको नाम दीपेश पुन रहेको र मेरो नाम दीपेशकुमार पुन भएको हुँदा नामसमेत फरक छ ।’ उता १४ करोड रुपैयाँ गोर्खा मिडियामा ल्याउँदा कम्पनीको प्रबन्धनिर्देशक रहेका लामिछानेले पनि ठीक यस्तै प्रतिक्रिया दिँदै आएका छन् ।

सहकारीको २०७२ फागुन ११ गते बसेको बैठकबाट जीबी राई अध्यक्ष र दीपेश पुन कोषाध्यक्ष भएका थिए । पछि २०७६ कात्तिक १६ गते बसेको अर्को साधारणसभाबाट पुन सचिव भएका हुन् । २०७९ मंसिरमा भएको सहकारीको २१ औं वार्षिक साधारणसभा पनि पुन सचिवका रूपमा उपस्थित रहेको पनि अनुसन्धानले देखाएको छ । तर पुनले कुनै संलग्नता नरहेको र हस्ताक्षर अर्कैले गरेको दाबी गरेका छन् ।

बाल्यकालदेखि राजनीतिक र सामाजिक क्षेत्रमा सक्रिय रहे पनि २०७२ मा संविधान जारी भएपछि सरकार, सहकारी र निजी क्षेत्रका बारेमा अध्ययन गरेको प्रसंग बयान गर्दै पुनले भनेका छन्, ‘सुप्रिम सहकारीको साधारणसभामा युवा राजनीतिक र सामाजिक व्यक्तिका रूपमा बोलाइएको थियो, अतिथिको उपस्थिति रजिस्टरमा हस्ताक्षर गरी निस्केको हुँ, मैले सहकारीको रकम हिनामिना गरेको छैन,’ उनले भनेका छन्, ‘सचिवको वा अन्य के कसोमा हस्ताक्षर गराइएको आफूलाई याद भएन ।’

दुई महिनापछि संस्थाका कार्यकारीले फोन गरेर संरक्षक तथा तत्कालीन अध्यक्ष राईले ‘तपार्इंलाई सचिवका रूपमा राखिदिनु भनी गरेको सिफारिसका आधारमा तपाईंलाई सचिव राखेका छौं’ भनेर जानकारी गराएको उनले बयानमा उल्लेख गरेका छन् । ‘मैले जीबी राई र परिवारका सदस्यसित सल्लाह गरेर खबर गरौंला भनेको थिएँ,’ उनले भनेका छन्, ‘त्यसपछि राईसित कुरा गर्न धेरै पटक सम्पर्क र भेट गर्न खोज्दा सम्भव भएन ।’ तर, सुप्रिम सहकारी नामकरण अघिदेखि नै पुन यसमा संलग्न दस्तावेजबाट देखिन्छ ।

बुटवल–८ का बासिन्दाले स्थापना गरेर निष्क्रिय अवस्थामा रहेको मैत्रेय बचत तथा ऋण सहकारी संस्थाको नाम सुप्रिम बनाएर गितेन्द्रबाबु (जीबी) राई र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनले सञ्चालनमा ल्याएका हुन् । २०५७ सालमा स्थानीयले स्थापना गरेको केही समयपछि आर्थिक अभाव भएपछि मैत्रेय सहकारी निष्क्रिय अवस्थामा पुगेको थियो । सहकारीका वर्तमान अध्यक्ष ओमप्रकाश गुरुङले प्रहरीसमक्ष दिएको बयानअनुसार मैत्रेय स्थापनाताका बुटवलकै राजु गुरुङ अध्यक्ष, माया गुरुङ उपाध्यक्ष र ओमप्रकाश सचिव थिए ।

स्थानीयले सहकारी सञ्चालन गर्न नसकेको सुइँको पाएका जीबी राई र दीपेशले २०७२ सालतिर ओमप्रकाशलाई फोन सम्पर्क गरे । त्यसबेला नयाँ सहकारी दर्ता गर्न नमिल्ने भएकाले राई र पुनले गुरुङसित आफूहरूलाई मैत्रेयको सेयर सदस्य बनाउन प्रस्ताव गरे । ‘तपार्इंको सहकारी निष्क्रिय रहेछ, हामीलाई सेयर सदस्य बनाउनुस्, हामी सञ्चालन गर्छौं भने,’ गुरुङको बयानमा उल्लेख छ, ‘त्यसपछि साथीहरूसित चलाउँछन् भने दिऊँ न भनेर सल्लाह गरेर जीबी राईसमेतलाई मैत्रेयको सेयर सदस्य कायम गर्‍यौं ।’

स्थानीयले सहकारी सञ्चालन गर्न दिने निर्णय गरेर सेयर सदस्य कायम गरेपछि जीबी राई उक्त सहकारीको अध्यक्ष बने । बयानमा उल्लेख भएअनुसार ओमप्रकाश उपाध्यक्ष बने भने जीबीका निकट राजु बराल सचिव, दीपेशकुमार पुन कोषाध्यक्ष, सुरज श्रेष्ठ, देवेन्द्रबाबु राई र भूपेन्द्र राई सदस्य बने । ‘निजहरूले सञ्चालन गर्ने भएपछि मैत्रेयको नाम परिवर्तन गरेर सुप्रिम बचत तथा ऋण सहकारी संस्था राखियो,’ गुरुङको बयानमा उल्लेख छ ।

जीबी अध्यक्ष भएपछि निष्क्रिय रहेको सहकारीको एकाएक कार्यक्षेत्र विस्तारको निर्णय गरिएको गुरुङले बयान दिएका छन् । जसअनुसार २०७६ सालमा रूपन्देहीको मसिनामा रहेको जय अम्बे बहुउद्देश्यीय संस्थालाई एकीकृत गर्ने निर्णय भयो । उक्त निर्णयअनुसार तत्कालीन सुप्रिम सहकारीका पदाधिकारीले नै बुटवल–९ बाट कारोबार सञ्चालन गर्ने गरी जय अम्बेलाई एकीकरण गरिएको गुरुङको बयानमा उल्लेख छ । उक्त एकीकरणपछि नयाँ सञ्चालक समिति गठन भएको उनको भनाइ छ । ‘म नयाँ सञ्चालक समितिको अध्यक्ष बनें,’ उनले बयानमा भनेका छन्, ‘नयाँ समितिको उपाध्यक्ष असरफ अलि, सचिव दीपेशकुमार पुन, कोषाध्यक्ष सुरज श्रेष्ठ र सदस्यमा देवेन्द्रबाबु राई, भूपेन्द्रबाबु राई, दिनेश रोका, बुद्धि गुरुङ र मझर मोहम्मद, लेखा समिति संयोजक भविश्वर अर्याल, लेखा समिति सदस्य पौंबहादुर गुरुङ र इन्दिरा बस्याल भएर सञ्चालनमा आइरहेको थियो ।’

यसै क्रममा २०७८ सालमा सिद्धार्थनगर–७ भैरहवामा सेवा केन्द्र सञ्चालन गरिएको थियो । उक्त सेवा केन्द्रको प्रमुखमा दुर्गा चापागाईं पाण्डे थिए । त्यसको एक वर्षपछि २०७९ सालमा कपिलवस्तुको जितपुरमा सेवा केन्द्र खोलिएको गुरुङले बयान दिएका छन् । जितपुर शाखाको प्रमुखमा नीरज गुरुङ थिए भने बुटवलस्थित प्रधान कार्यालयको प्रमुख सागर केसी थिए । ‘यसै क्रममा २०७९ तिहारका बेला बचतकर्ताको रकम फिर्ता गर्न सकिएन,’ गुरुङको बयानमा उल्लेख छ, ‘रकम फिर्ता गर्न नसकेपछि बचतकर्ताले होहल्ला गरे, बचतकर्ताको विरोध जारी रहेका बेला तिहार बिदा भयो । तर, तिहार बिदापछि पनि फिर्ता गर्न रकम भएन ।’

त्यही बेलादेखि सञ्चालक समितिका पदाधिकारी र व्यवस्थापक केसी सम्पर्कविहीन भएको उनको बयानमा छ । ‘व्यवस्थापकसित सम्पर्क नभएपछि कारोबार के कसरी भएको हो भनेर फाइल हेर्दा उपयुक्त धितो ग्यारेन्टी र कागजातबिनै लगानी गरेको देखियो,’ गुरुङको बयानमा छ, ‘लगानी गरेको रकम कानुनबमोजिम असुलउपर गर्न सक्ने अवस्था नदेखिएकाले बचतकर्ताको रकम फिर्ता गर्न सकिएन ।’

उनका अनुसार पहिले सुप्रिम सहकारीको खाता सञ्चालन गर्दा पूर्वअध्यक्ष जीबी राई र व्यवस्थापक सागर केसीको हस्ताक्षर चल्थ्यो । अध्यक्ष बनेपछि गुरुङ र केसीको दस्तखत चल्ने खाता छ । ‘केन्द्रीय कार्यालय र भैरहवा सेवा केन्द्रमा एउटै चेक चल्थ्यो,’ उनले भनेका छन्, ‘कपिलवस्तुको सेवा केन्द्रको अलग्गै खाता सञ्चालनमा थियो ।’ आफ्नो बयानमा उनले हिसाबकिताबको सम्पूर्ण विवरण व्यवस्थापक केसीलाई जानकारी भएको उल्लेख गरेका छन् ।

उता लामिछानेका लागि गोर्खा मिडियाको खातामा रकम जम्मा गरिदिने कर्मचारी रोशनी गुरुङलाई पनि प्रहरीले पक्राउ गरी प्रतिवादी बनाएको छ । प्रतिवादी रोशनी गुरुङले करिब ७ वर्षदेखि सुप्रिम सहकारीमा कार्यरत थिइन् । उनले बयानमा भनेकी छन्, ‘लेखा शाखामा काम गर्दा जनरल भौचर तयार गर्ने, लेखा हिसाब राख्ने जीसीएस बैंकिङ सफ्टवेयर सिस्टममा इन्ट्री गर्ने, डे बुक तयार गर्ने, बचतकर्ताको खातामा भएको रकमलाई निजहरूको निवेदनका आधारमा ट्रान्सफर गर्ने, व्यवस्थापकले भनेअनुसार व्यक्ति र कम्पनीका नाममा रकम पठाउने र सो बैंक तथा जनरल भौचर तयार गरी इन्ट्री गर्दै आएकी थिएँ ।’

काम गरेको लामो अवधि भएकाले सहकारीको लेखा हिसाब राख्ने जीसीएस बैंकिङ सफ्टवेयर सिस्टममा युजर आईडी प्रयोग गर्दै आएको उनले उल्लेख गरेकी छन् । उनको बयानमा छ, ‘व्यवस्थापक केसीले अह्राएअनुसार व्यक्ति वा कम्पनीका नाममा पैसा पठाएकी हुँ । व्यवस्थापक केसीले नाम मात्र भरेर अरू सबै खाली राख्न लगाएर करोडौं रकम निजहरूको कम्पनीमा जम्मा गर्न लगाएका थिए । यसरी पैसा पठाएका मध्ये रवि लामिछाने र छविलाल जोशीको नाम थाहा छ ।’ यसरी जसका लागि यति ठूलो रकम ‘ट्रान्सफर’ गरियो, रवि र छविसँग प्रहरीले अहिले पनि सोधपुछ गरेको छैन भने रोशनी भने हिरासतमा छिन् ।

तपाईको प्रतिक्रिया