‘बा र भगवान’ प्रश्न भन्दा माथि: गगन थापा

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अरु दलका शीर्ष नेता प्रश्न भन्दा माथि भएपनि कांग्रेसमा त्यस्तो नभएको बताएका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको नाम नलिइकन उनीहरु प्रश्न भन्दा माथि रहेको उनले बताए।

संवाद यात्रा पुनः सुरु गरेका महामन्त्री थापाले नवलपरासीमा विहीबार बोल्ने क्रममा कांग्रेसमा सभापतिलाई प्रश्न उठाउन सकिने बताए। उनले भने, ‘नेकपा एमाले कस्तो पार्टी बन्यो, हेर्नुस् त पार्टीको अध्यक्षलाई कसैले पनि प्रश्न गर्ने नपाउने। पार्टीको अध्यक्ष बा मुनि मात्रै अरु हुने। बा प्रश्न भन्दा माथि।’

रास्वपाका सभापति लामिछानेलाई संकेत गर्दै थापाले नयाँ पार्टीमा अध्यक्ष भनेको भगवान् जस्तै रहेको बताए। थापाले भने,‘भगवनालाई चाहिं प्रश्न गर्न नपाउने। भगवानले ठगेपनि हुने। भगवानले लुटेपनि हुने। भगवान चाहिं प्रश्न भन्दा माथि।’ कांग्रेसमा प्रश्न भन्दा बाहिर कोही नरहेकाले छलफल र बहस गर्न पाइने महामन्त्री थापाले बताए।

तपाईको प्रतिक्रिया