चितवन। बजेट अभावका कारण अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि टेण्डर आह्वान गरिएको छ।
भरतपुर महानगरपालिकाले ३० दिनको म्याद राखेर एक अर्ब १० करोडको ठेक्का आह्वान गरेको छ। रंगशालालाई उच्चप्राथमिकतामा राखेको र तोकिएको मितिभन्दा अगाडि नै पूरा गर्ने महानरको तयारी छ।
महानरपालिकाका वरिष्ठ इन्जिनियर सन्तोष आचार्यले थप १० हजार क्षमताको प्याराफिटसहित मैदानलगायतका भौतिक पूर्वाधार निर्माणका लागि ३० महिनाभित्र काम गरिसक्ने गरी टेण्डर निकालिएको हो।
सुरुमा रंगशाला निर्माण थालेको धुर्मस सुन्तली फाण्डेशनले ५ हजार बस्ने प्याराफिट तयार गरिसकेको छ। वरिष्ठ इन्जिनियर आचार्यका अनुसार मैदानसहित ५ वटा पिच, मैदानमा ड्रेनऐजसहित पछिल्लो प्रविधि अपनाएर मैदान निर्माण, २ वटा ३ र३ तलाको टावर बनाइने छ। एउटामा भीआईपी र खेलाडी रहनेछन् भने अर्कोमा मिडिया, अम्पायर र कर्पोरेट बक्सहरु हुनेछन्। यस्तै, गेट, कम्पाउण्डवाल लगायतका थप पूर्वाधार पनि यही भित्र बन्नेछ।
महानगरपालिका प्रमुख रेनु दाहालले रंगशालाको निर्माण महानगरको गौरवको परियोजना भएको बताइन्। उनले ठेक्का आह्वानसँगै रंगशाला निर्माण सम्पन्न गर्ने आफ्नो संकल्प अब पूरा हुने बताइन्।
‘रंगशाला निर्माणको काम विभिन्न कारणले रोकिंदा म निकै दुःखी थिए । यसलाई जसरी पनि बनाउनुपर्छ भनेर लागे । महानगरपालिकाले मात्रै गरेर केही हुने अवस्था थिएन, सबै पक्षलाई मिलाउनुपर्ने झन्झट नै थियो,’ उनले भनिन्, ‘धेरै ठूला बाधाहरु फुकाएर रंगशाला बन्ने कुरा सुनिश्चित भएको छ, सारा क्रिकेटप्रेमीहरु, भरतपुरवासीहरु खुसी हुनुपर्ने दिन हो, मेरो संकल्प थियो, त्यो पूरा हुँदैछ।’
यसअघि गत माघ २३ गते बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले रंगशाला निर्माणका लागि आवश्यक ७५ करोड रुपैयाँको ७० प्रतिशत अर्थात ५२ करोड ५० लाख रुपैयाँ दिने निर्णय गरेको थियो। बाँकी रकम भरतपुर महानगरपालिकाले खर्च गर्ने छ। संघीय सरकारसँग पनि रंगशाला निर्माणका लागि रकम माग गरिएको महानगरपालिकाले जनाएको छ।
संघीय मन्त्रिपरिषद्को गत कात्तिक २३ गते बसेको बैठकले गौतम बुद्ध क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको परियोजनाभित्र समेटेर बाँकी काम तीनै तहका सरकारहरु मिलेर पूरा गर्ने निर्णय गरेको थियो।
सो निर्णयमा रंगशालाको निर्माणको मुख्य पहलकदमी र समन्वय भने महानगरपालिकाले गर्ने उल्लेख छ। महानगरले संघीय सरकारसँग पनि रंगशालाको बाँकी कामका लागि रकम माग गरेको महानगरका उपनिर्देशक अर्यालले जानकारी दिए।
उनकाअनुसार रंगशालाका सम्पूर्ण डकुमेन्ट र प्रक्रिया पूरा गरिएको छ। रंगशालाको पहिलो फेजको काम लागि टेण्डरमा आह्वान गरिएको बताउँदै उपनिर्देशक अर्यालले यो निर्माणको प्रकृयामा रहँदा दोस्रो फेजको कामका लागि पूर्वतयारी गर्ने जानकारी दिए।
धुर्मस सुन्तली फाण्डेशनले बनाउन सुरु गरेको रंगशाला बजेट अभाव भएको भन्दै २०७८ साउन २२ गतेबाट पूर्ण रुपमा काम रोकिएको थियो। फाउण्डशेनले बनाएको विस्तृत परियोजना प्रतिवेदनलाई (डीपीआर) रिभाइज गरिएको महानगरका उपनिर्देशक अर्यालले जानकारी दिए।
रिभाइज गरिएको डीपीआरमा केही पूर्वाधारहरु थप्नुपर्ने र केही हटाउनुपर्ने देखिएको अर्यालले जानकारी दिए। त्रिभुवन विश्वविद्यालयको नाममा रहेको तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको २० विगाहा १९ कठ्ठा जग्गामा धुर्मस सुन्तली फाउण्डेशनले निर्माण थालेको रंगशालाको काम ३९ प्रतिशत काम सकिएपछि बजेट अभाव भएको बन्दै निर्माण रोकिएको थियो।
कुल ३० हजार दर्शक क्षमताको रंगशालाको प्याराफिटमा ३ हजार दर्शक बस्न मिल्ने प्याराफिट बनिसकेको छ। प्याराफिटका लागि २८६ पिलर उभ्याइएको छ। थप निर्माणमा स्रोत जुटाउन नसकेपछि धुर्मस सुन्तली फाउण्डेशनले २०७८ पुस २ गते महानगरपालिकालाई स्वामित्व लिन अनुरोध गर्दै पत्र लेखेको थियो ।
दियो खबर । १७ फाल्गुन २०८०, बिहीबार ११:११