‘आजसम्म अस्तित्वमा रहेका सबै समाजहरूको वर्गसंघर्षको इतिहास हो।’ कम्युनिष्ट घोषणापत्रमा उल्लेख गरिएको यस भनाईलाई आधार मान्ने हो भने मानव समाजको विकास÷विनास जे भएपनि त्यसको जिम्मेवार पक्ष नै वर्गसंघर्ष हो र हुनेछ । समाज रूपान्तरणको पक्रिया सामाजिक वर्गसंघर्षमै आधारित छ । नेपाली समाजको सामाजिक वर्गसंघर्षको कुरा गर्दा हाम्रा खास अन्तरविरोध छन् । ति के—के हुन, कोसँग हुन्, ति अन्तरविरोध कस्ता छन्, कस्तो अवस्थामा छन्, अँझ जोड्ले भन्नुपर्दा नेपाली कम्युनिष्टहरूले उठाउँदै आएको वर्गीय रूपान्तरणको अवस्था कहाँ छ ? यो नै आज चर्चा गर्नुपर्ने मुख्य विषय बन्नुपर्छ ।
नेपाली समाजलाई मुख्यतः चार (राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक) कित्तामा उभ्याएर हेर्नुपर्ने हुन्छ । यी चारवटा पक्षबाट हेर्दा नेपाली समाज कहाँनेर छ भनेर देख्न सकिन्छ । कुनै पनि बस्तुमा हुने रूपान्तरणको मात्रा कुनै निश्चित अवस्थामा पुगेपछि त्यो गुणमा परिर्वतन हुन्छ । त्यसैलाई माक्र्सले वस्तुको गुणात्मक रूपान्तरण भनेका छन् । संसार परिवर्तनशील छ भन्ने कुरा घाम जस्तै छ । तर, यो परिवर्तन कसरी हुन्छ ? भन्ने बारेमा आम मानिसलाई थाहा नहुन पनि सक्छ !
वर्तमान नेपाली समाजको वर्गचरित्र पूँजीवादी हो । दोस्रो जनआन्दोलनपछि नेपाली समाजले आफ्नो वर्गचरित्र परिवर्तन गरेको हो । त्यसयता मुलधारका राजनीतिक दलहरूले रूपान्तरणका अभियान सञ्चालन गर्न सक्नुपथ्र्यो । तर, त्यो भएन । संविधान लेखन, शान्ति प्रक्रिया र लडाकु व्यवस्थापनमा नेपाली राजनीति केन्द्रीत भएर बस्यो । ६० को दश द्वन्द्व रूपान्तरण र संविधानको लेखनको मामलामा वित्यो । त्यो क्रममा देश राजनीतिक, आर्थिक र सामाजिक रूपमा विभक्त बन्यो । अर्थात गर्नुपर्ने काम भएनन् । अरू नै काममा नेपाली राजनीति घुमिरह्यो । अतः रूपान्तरणको अभियानबारे खासै छलफल र अन्तरक्रिया भएनन् ।
हामी एकाएक समाजवादी क्रान्तिको नारा बुलन्दगर्ने अवस्थामा आइपुगेका छौं । हामी अलि अगाडि आएर अलि पछाडि छुटेका कुराहरूलाई नियालिरहेका छौं । खैर, केही बिलम्ब भएपनि राम्रो कुराका बारेमा बहस, मन्थन हुनु राम्रो कुरा हो । नेपाली समाजमा रहेका अन्तरविरोधले समाजलाई रूपान्तरणको गतिमा हिड्न बाधा सिर्जना गरिहेका छन् । जुन अन्तरविरोधका बारेमा एउटा लेखमा विस्तार गर्न त सकिँदैन । तर पनि, हाल नेपाली समाजले भोगिरहेका अन्तरविरोधबारे संक्षिप्तमा चर्चा, बहस र छलफल भने गर्नैपर्छ ।
राजनीतिक अन्तरविरोधः राजनीतिक अन्तरविरोधसँग देशी तथा विदेशी सवालहरू जिम्मेवार हुन्छन् र जोडिएका हुन्छन् । मुलतः नेपालको वर्तमान शासन व्यवस्था संघीय समाजवादी व्यवस्था हो । यस व्यवस्थालाई खतरामा पार्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरविरोधहरू सक्रिय छन् । आजका दिनमा भूगोल जोडिएका भारत/चीन र आकाश जोडिएको अमेरिका हाम्रा छिमेकी हुन् । यसको अर्थ यो पनि होइन कि अन्य देशको कुनै प्रवाव, असर र मथलव राख्दैनन् । विश्वकै यी शक्तिशाली तीन देशको राजनीतिक, सामाजिक, आर्थिक, साँस्कृति र प्राविधिक स्वार्थको केन्द्रभागमा नेपाल छ । भारत प्रत्यक्ष रूपमै नेपालका आन्तरिक मामिलामा छिरेर राजनीतिक अन्तरविरोध सिर्जना गर्ने छिमिको हो भने नेपालमा चीनियाँ प्रभाव रोक्न एमसीसी, आइपिएस जस्ता कार्यक्रमहरू लादेर अमेरिका अघि बढ्न खोजिरहेको देखिन्छ । आजका दिनसम्म चीन तुलनात्मक रूपमा नेपालको हितमा उभिएको राष्ट्र हो ।
वैचारिक रूपमा यथास्थितिवादलाई मलजल गर्नेहरूले प्रगतिशील व्यवस्था र सामाजिक लोकतन्त्रलाई हुर्कन दिदैनन् । अर्कातर्फ वर्तमान संविधानमा केही कमजोरी पनि छन् । जस्तोः समावेशी, समानुपातिक सिद्धान्तलाई वर्तमान संविधानले स्वीकार गरेतापनि राज्य सत्ता र पार्टी सत्तामा महिलाको ५० प्रतिशत सहभागितालाई लिपिवद्ध गरेको स्थिति छैन । ५१ प्रतिशत महिलाहरूका लागि राज्यका हरेक तहमा ३५ प्रतिशत उपस्थितिको व्यवस्था गर्नु नै अवैज्ञानिक र राजनीतिक अन्तरविरोध हो । त्यस्तै दलित, जनजाती, थारू, मधेशी र पीछडिएको वर्ग क्षेत्रसँग जोडिएका अनेकौं राजनीतिक अन्तरविरोध विद्यमान छन् ।
संघीय सरकारबाट प्रदेश सरकारलाई असफल बनाउने, कुरूप बनाउने, शत्ता संघर्षको हतियार बनाउने काम भइरहेका छन् । संघीयतालाई असफल पार्ने काम भइरहेका छन् । यी कार्यहरू वर्तमान राजनीतिक सतहमा देखिएका ज्वलन्त अन्तरविरोधहरू हुन् । भन्ने एउटा, गर्ने अर्को भएपछि यस्ता अन्तरविरोधहरू जन्मिन्छन् । हुर्किन्छन् र समाजलाई उधोगतिमा लैजान्छन् । समयमै मुख्य राजनीतिक दलहरूले ध्यान दिन जरूरी हुन्छ ।
विदेश नीति, रणनीति, कुटनीति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वैचारिक भिन्नता, संवैधानिक व्यवस्था, यसका जटिलता र वर्तमान शासन प्रणालीसँग जोडिर आउने सबैखाले मतमतान्तरहरू राजनीतिक अन्तरविरोध हुन् । मुख्यतः माक्र्सवादी समाजवादलाई राजनीतिक सिद्धान्त मान्ने र यथास्थितिवादको वकालत गर्नेहरूका बीचमा रहेको अन्तरविरोध नै वर्तमान नेपाली समाजको मुख्य राजनीतिक अन्तरविरोध हो । यो अवस्था एकाध वर्षसम्म रहन्छ । जनताबाट पराजित शक्तिले आफ्नो हारलाई भुलेको हुँदैन । पुनः सत्तामा फर्किने उत्कट महत्वाकांक्षा पालेर पर्खिरहेको हुन्छ भन्ने कुरा समाजवादका पक्षधरहरूले भुल्नु हुँदैन । संर्घषलाई भुल्नु भनेको यथास्थितिवादलाई प्रसय दिनु हो ।
सामाजिक अन्तरविरोध:
समाजशास्त्रीय सवालहरूबाट हेर्दा नेपाली समाज जातीय रूपमा तहगत संरचनामा विभाजित छ । समाज विभाजन वर्गसंघर्षको आधारमा हुने भएपनि नेपाली समाजको विभाजनमा वंश तथा जात प्रथा जिम्मेवार देखिन्छ । जन्म, गोत्र, वंश, धर्म, पेशाका आधारमा विभाजित नेपाली समाज आजका दिनसम्म पनि समाजले काचुली फेर्न सकिरहेको छैन । आदिम साम्यवादी युग बाहेक यताको मानवविकासको सभ्यतालाई हेर्ने हो भने समाजमा दुई (बलशाली र कमजोर) परस्पर विरोधि वर्ग कित्तामा उभिएको देखिन्छ । समाजमा अनेक सामाजिक अवस्था र अन्तरविरोधहरू छन्, ति अवस्था र तत्वहरूलाई सत्य निरूपणका निम्ति केलाउनुपर्छ ।
द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणबाट हेर्न सक्नुपर्छ । समाजको एउटा पाटोलाई हेरेर मात्रै पुग्दैन, अर्को पाटोलाई पनि हेर्नुपर्छ । अर्को पाटोलाई मात्र हेरेर पुग्दैन, एक आर्को पाटोबीचको सम्बन्ध र फरक के छ ? ऐतिहासिकता के छ ? त्यो कोणबाट पनि सत्य निरूपण हुनुपर्छ÷गरिनुपर्छ । समाज स्थिर छैन र रहँदैन पनि । समाज बन्ने र भत्किने क्रम चलिरहन्छ । समाज बहुआयामिक छ भन्ने कुरा भुल्नु हुँदैन ।
आर्थिक अन्तरविरोधः आर्थिक रूपमा नेपाली समाज मुख्यतः तीन (धनी वर्ग, मध्यम वर्ग र निम्न वर्ग) वर्गमा विभाजित छ । पूँजिपति वर्ग, दलाल पूँजिपति वर्ग र सर्वहारा वर्गबीचको आर्थिक अन्तरविरोध टकरावपूर्ण स्थितिमा छ । समाजमा आर्थिक र सामाजिक खाडल गहिरो देखिन्छ । राज्य सञ्चालकहरूले शक्ति, सत्ता र सम्पत्तिका आधारमा विकासको मोडल अंगिकार गर्न खोजेको देखिन्छ । नेता, मन्त्रीहरूको निर्वाचन क्षेत्र केन्द्रीत वजेट विनियोजनले नेपाली समाजमा गम्भिर आर्थिक अन्तरविरोध सिर्जना गरेको देखिन्छ ।
कम्युनिष्ट घोषणापत्रमा भनिएको छ, ‘पूँजिपति हुनुको मथलव, व्यक्तिगत मात्र होइन, कि सामाजिक स्थान पनि लिनु हो । पूँजि एक सामूहिक उपज हो । र समाजका अनेक सदस्यहरूको प्रयासले मात्र र अन्त्यमा, समाजका सबै सदस्यहरूको संयुक्तिप्रयासले मात्र त्यसलाई गतिशील गर्न सकिन्छ । यदि पूँजि सामुहिक सम्पत्ति बनाइन्छ, अर्थात त्यसलाई समाजका सबै सदस्यहरूको हक लाग्ने सम्पत्ति रुपमा लिइन्छ, भने यो व्यक्तिगत स्वामित्वको सामाजिक स्वामित्व होइन, खालि सम्पत्तिको सामाजिक रूप मात्र बदलिन्छ । त्यसले आफ्नो वर्गिय रूप गुमाउछ ।’
अन्त्यमा, प्रकृति, वस्तु र मानवबीचको अन्तरविरोधलाई फरक कोर्णबाट हेर्नुपर्छ । समाज—समाजबीचका अन्तरविरोधहरू विशिष्ट छन् । जटिल र बहुआयामिक छन् र हुन्छन् । वर्तमान समयका अन्तरविरोधहरूको हल गर्दै इतिहास निर्माणको महान कार्यमा आम मानिसलाई सहभागि गराउन राजनीतिक शक्तिकै भूमिका रहन्छ । अर्को कुरा संविधानको व्यवहारिक कार्यान्वयन गर्ने हो भने वर्तमान अवस्थामा नेपाली समाजलाई गाजिरहेका अन्तरविरोधलाई पराजित गर्न सकिन्छ । अतः संविधान कार्यान्वयनलाई राष्ट्रिय एजेण्डा बनाउनुपर्छ ।
इतिहास, सभ्यता, भूराजनीति, वातावरण, शिक्षाका आधारमा पनि समाज निक्कै ठूलो अन्तरविरोधका बीच अगाडि बढिरहेको हुन्छ । जसको हल गर्नका निम्ति नेतृत्व नैतिक, इमान्दार र पारदर्शी हुनुपर्छ । माथि उल्लेखित अन्तरविरोधहरूको सम्बोधन गर्ने एउटै उपाय छ । त्यो हो, जनवादी सरकार । इमान्दार सरकार । जवाफदेही सरकार । पारदर्शी सरकार । त्यो सरकार सञ्चालन गर्ने बलियो इमान्दार राजनीतिक शक्ति। वैचारिक रूपमा स्पष्ट र व्यवहारमा प्रष्ट पार्टीले यि अन्तरविरोधको हलगर्न सक्छ । अन्यथा, ‘भन्ने एउटा, गर्ने अर्कै’ प्रवृत्तिलाई जारी राख्ने हो भने योभन्दा खतरा अवस्थाको सामना गर्नुपर्ने हुनसक्छ । देउता मान्न पनि मन लाग्ने र कम्युनिष्ट विचारधाराको अनुयायि हुँ पनि भन्ने खालको सद्भावी चेतनाले समाजलाई प्रगतिशील पथमा हिडाउन सक्दैन । त्यसकारण राजनीतिक नेतृत्वले इमान्दार बन्ने र ठोस् परिस्थितिको विश्लेषण गर्ने हो भने राजनीतिमा रूपान्तरण, पुस्तान्तरण र हस्तान्तरणको नयाँ इतिहास लेखिन सक्छ । समाजले भोगिरहेका अन्तरविरोधहरू वैज्ञानिक र व्यवहारिक रूपमा समाधान हुन सक्छन् । एक वाक्यमा भन्दा नेपाली समाजसँगै नेपाली राजनीति पनि अन्तरविरोधको उल्झ्नमा अल्झिन पुगेका कारण आजको उकुसमुकुस र्सिजना भएको हो ।
दियो खबर । १२ माघ २०८०, शुक्रबार ०८:५८