आज एपीएफ र कोशी भिड्दै

काठमाडौँ। प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि बुधबार सशस्त्र प्रहरी बलको एपीएफ क्लब र कोशी प्रदेशबिच भिडन्त हुँदैछ।

फाइनल खेल नेपाल समयअनुसार, बिहान ११ः०० बजे कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ। एपीएफको टोली पहिलो क्वालिफायर खेलमा कोशी प्रदेशलाई नै ५२ रनले हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको हो। त्यसपछि कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशसँग दोस्रो क्वालिफायर खेल खेलेको थियो। दोस्रो क्वालिफायरमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले हराएको थियो।

त्यसअघि सुदूरपश्चिमको टोलीले इलिमिनेटर खेलमा बलियो बागमती प्रदेशलाई नौ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो। प्रतियोगिताको लिग चरणमा पनि एपीएफको टोली अपराजित रहेको थियो।

लिग चरणको खेलमा एपीएफले आफूले खेलेको सातवटै खेलमा जित हात पारेको थियो। लिग चरणमा १४ अंकसहित एपीएफ क्लब पहिलो भएको थियो। कोशी प्रदेश भने लिग चरणको खेलमा दोस्रो भएको थियो। लिग चरणमा आफूले खेलेका सातमध्ये ६ खेलमा कोशी प्रदेश विजयी भएको थियो।

त्यसैले पनि बुधबार हुने एपीएफ र कोशी प्रदेशबिचको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ। यी दुवै टोलीका कप्तान निकै अनुभवी छन्। दुवै टोलीमा अनुभवी खेलाडीको बाहुल्य छ। एपीएफ क्लब सीता रानामगर र कोशी प्रदेश रुविना क्षेत्रीको कप्तानमा मैदानमा ओर्लने छ।

रुबिना क्षेत्री जारी प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी हुन्। उनले हालसम्म प्रतियोगितामा कुल दुई सय ८३ रन बनाइसकेका छन्। उनले १० विकेट पनि लिएकी छन्। एपीएफ क्लबकी इन्दू बर्माले पनि हालसम्म दुई सय ३१ रन बनाइसकेकी छन्।

तपाईको प्रतिक्रिया