काठमाडौं। युवा ब्याटर किरण कुँवरको कप्तानीमा कर्णाली प्रदेशले बिहीबार देखी काठमाडौंमा सुरु हुने प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गरेको छ । घोषणा टोलीमा किरणसँगै युवा अलराउन्डर अन्जु गुरुङ, बिना थापा र तृर्सना विश्वकर्मा लगायका खेलाडी छन् ।
किरणले गतवर्ष नेपालबाट यू-१९ राष्ट्रिय टोलीबाट खेलेकी थिइन् । बिनाले गतवर्ष कर्णालीको कप्तानी गरेकी थिइन् । अन्जुले कर्णालीबाट अलराउन्ड प्रदर्शन गर्दै आएकी छिन् ।
पिएमकप महिला पुष ५ देखी १७ गतेसम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा ७ प्रदेश र नेपाल एपिएफ क्लबको सहभागीता रहनेछ । पहिलो पटक राउन्ड रोविनको आधारमा खेल हुनेछ । सबै टोलीले एक अर्कासँग खेल्नेछन् । शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् ।
शीर्ष दुई टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । विजेता टोली फाइनलमा पुग्दा पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ । एलिमिनेटरमा तेस्रो र चौथो स्थानमा रहने टोली भिड्नेछन् ।
एलिमिनेटरको विजेताले पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग फाइनलमा पुग्न प्रतिस्पर्धा गर्नेछ । कर्णालीले पहिलो खेल पुष ५ गते कोशी प्रदेशसँग मुलपानीमा खेल्दै सुरुवात गर्नेछ ।
कर्णालीको टोली
किरण कुमारी कुँवर (कप्तान), अन्जु गुरुङ, बिना थापा, तृर्सना विश्वकर्मा, एन्जिला थापा, रमा विश्वकर्मा, यमुना थारु, निकिता धमला, निलम शाही, बिमला बुढाथोकी, सुराती बुढा, रक्षा खड्का, गौरी बोहरा र करिष्मा शाही ।
दियो खबर । ३ पुष २०८०, मंगलवार ०९:३८