सुर्खेत। कर्णाली प्रदेश सरकारले प्राकृतिक विपत्तिले क्षति पुर्याएका घरहरुका लागि चार करोडभन्दा बढी रकम जिल्लामा पठाएको छ।
कर्णाली विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले विपद् उद्धार तथा राहत वितरण सम्बन्धी कार्यविधि ०७९ अनुसार उक्त रकम जिल्ला प्रशासन कार्यालयहरुको नाममा पठाइएको हो।
बाढी, पहिरो, हावाहुरी, चट्याङ्, भूकम्पलगायतका कारणबाट भएको घर क्षति बापत राहत तथा उद्धार कार्य गर्ने प्रयोजनका लागि उक्त रकम पठाइएको कर्णाली सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए।
उनकाअनुसार राहत वितरण शीर्षकमा सुर्खेतमा ५० लाख, दैलेखमा साढे ४० लाख, जाजरकोटमा ७० लाख, सल्यानमा ५१ लाख, जुम्लामा ५० लाख, हुम्लामा ५१.५ लाख, कालिकोटमा ५० लाख, मुगुमा ५३ लाख र डोल्पामा ३० लाख बराबर रकम पठाइएको छ।
उक्त रकम सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले कार्यान्वयन गर्ने छन्। यस्तै भूकम्प प्रभावित क्षेत्रका पालिकाहरुमा यसअघि नै राहत तथा उद्धारका लागि दुई करोड ४० लाख रकम पनि पठाइएको थियो।
दियो खबर । २२ मंसिर २०८०, शुक्रबार १९:३२