फ्रान्सद्वारा जिब्राल्टर १४ गोलले पराजित

काठमाडौं। युरोकप २०२४ को छनोटमा फ्रान्सले जिब्राल्टरमाथि कीर्तिमानी जित निकालेको छ ।

समूह बी अन्तर्गत शनिबार राति भएको खेलमा फ्रान्सले जिब्राल्टरलाई १४-० को फराकिलो अन्तरले पराजित गरेको हो। केलिएन एमबाप्पेले ह्याट्रिक गरेको खेलमा फ्रान्सका ९ फरक खेलाडीले गोल गरे। यस्तै जिब्राल्टरका खेलाडीले एक आत्मघाती गोल पनि गरे।

फ्रान्सले दुवै हाफमा ७-७ गोल गरेको थियो। फ्रान्सको फुटबल इतिहासमा यो सबैभन्दा ठूलो जित हो। खेलको तेस्रो मिनेटमै एथान सान्तोसले आत्मघाती गोल गरेपछि फ्रान्सले अग्रता लियो। लगत्तै चौथो मिनेटमा मार्कुस थुरामले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे। वारेन जयर एमेरीले १६औं मिनेटमा फ्रान्सका लागि तेस्रो गोल गरे।

१८औं मिनेटमा सान्तोसले रातो कार्ड पाएपछि जिब्राल्टर दश खेलाडीमा समेटियो। त्यसको फाइदा फ्रान्सले उठायो र ११ गोल थप्यो। जसमा एमबाप्पेले ३०औं, ७४औं र ८२औं मिनेटमा गोल गरे। जोनाथन क्लसले ३४औं, किंग्सले कोमनले ३६औं र ६५औं, युसुफ फोफानाले ३७औं, एड्रिएन राबिओटले ६३औं, उसमान डेम्बेलेल ७३औं तथा ओलिभर जिरुडले ८९औं मिनेट र इन्जुरी टाइममा गोल गरे।

फ्रान्सले खेलमा ३९ सट प्रहार गर्दा जिब्राल्टरले एक पनि प्रहार गर्न सकेन। फ्रान्सका वारेन जएर इमेरी फ्रान्सका लागि खेल्नै सबै भन्दा युवा खेलाडी बने। उनले १७ वर्ष ८ महिना ११ दिनको उमेरमा खेल्दै कीर्तिमान बनाए।

यसअघि नै अर्को वर्ष जर्मनीमा हुने युरोकपमा स्थान बनाइसकेको फ्रान्सले समूह बी मा ७ खेलबाट २१ अंक जोडेर शीर्ष स्थानमै कायम छ। लगातार ७ खेल हारेको जिब्राल्टर अंकविहीन छ।

तपाईको प्रतिक्रिया