कोलकाता । दक्षिण अफ्रिका फेरि एकपल्ट सेमिफाइनलमा पराजित भयो । एकदिवसीय विश्वकप क्रिकेटको तनावपूर्ण सेमिफाइनलमा दक्षिण अफ्रिकालाई अस्ट्रेलियाले ३ विकेटले हराएको हो । दक्षिण अफ्रिकी क्रिकेट टिमको निर्णायक मोडमा चुक्ने असाध्यै नराम्रो बानी छ ।
त्यसैले दक्षिण अफ्रिकी टिमलाई छुच्चो भएर ‘चोकर्स’ भन्नेहरू छन् । प्रशिक्षक रब वाल्टर भने यस्तो मान्दैनन् । उनलाई लाग्छ, यसपल्टको सेमिफाइनल हारलाई आफ्नो टिम चुकेको भन्नै मिल्दैन ।
टस जितेर ब्याटिङ गरेको प्रोटियसले एक समय २४ रन बनाउँदासम्म ४ विकेट गुमाइसकेको थियो । धन्न, डेविड मिलरले १ सय १ रन बनाएपछि इडेन गार्डेनमा दक्षिण अफ्रिका २ सय १२ रनको स्कोर खडा गर्न सफल रह्यो । अस्ट्रेलियाले १ सय ३७ रन बनाउँदासम्म ५ विकेट गुमाएपछि यस्तो मोड पनि आएको थियो । जहाँ लाग्न थालेको थियो, कतै दक्षिण अफ्रिकाले त्यही स्कोर रक्षा गर्ने त होइन ?
अस्ट्रेलिया १६ बलको खेल बाँकी छँदैं जितसम्म पुग्न सफल रह्यो । विश्वकप इतिहासमा दक्षिण अफ्रिका यसरी सेमिफाइनलमै आएर रोकिएको यो पहिलोपल्ट होइन । यसअघि चारपल्ट यस्तो भइसकेको छ । अस्ट्रेलियासँग मात्रै दक्षिण अफ्रिका तीनपल्ट सेमिफाइनलमा चुकेको छ । अहिले एकपल्ट, त्यसअघि सन् १९९९ र २००७ मा गरेर दुईपल्ट । प्रशिक्षक वाल्टर भने जिद्दी गर्छन्, ‘यो चुकेको भनेको के हो, यसलाई परिभाषित गर्नुपरेको छ ।’
‘मेरो लागि चुक्नु भनेको खेल जित्ने अवस्थाबाट हार्नु हो । यसपल्ट खेलका सुरुदेखि नै हामी अस्ट्रेलियाको तुलनामा पछाडि थियौं । खासमा हामी त एक समय खेलमा फर्केका हौं । हामीले त्यही स्कोर पनि रक्षा गर्ने छाँट देखाएका थियौं । त्यसैले हामी फेरि एकपल्ट चुकेको भन्न मिल्दैन । यो त खासमा दुई निकै राम्रा टिमबीच भएको उत्तिकै गम्भीर मान्न मिल्ने खेल हो ।’ उनको एउटै मत हो, दक्षिण अफ्रिका ‘चोकर्स’ होइन नै ।
तर विश्व क्रिकेटमा दक्षिण अफ्रिकाको छवि यस्तै छ ‘चोकर्स’ को । दक्षिण अफ्रिकाले खेल जित्ने मज्जाको स्थितिबाट बारम्बार विपक्षी टिमसँग आत्मसमर्पण गरेपछि टोलीलाई यो विशेषण हालेर कुरा गर्ने गरिएको हो । सन् १९९९ बाट यस्तो भन्न सुरु भएको भन्दा हुन्छ । जतिबेला अस्ट्रेलियालाई सेमिफाइनलमा पराजित गर्न ४ बलमा एक रनमात्र आवश्यक थियो । यसपल्ट पनि सेमिफाइनलमा हार्नु अगाडि लिग चरणमा दक्षिण अफ्रिकाको प्रदर्शन राम्रै थियो, ९ खेलमा ७ जित । इतिहासमा फर्केर हेर्ने हो भने दक्षिण अफ्रिकाका पछिल्ला ४ सेमिफाइनल हार कस्तो रहे त ?
सन् १९९२ : असम्भव लक्ष्य
दक्षिण अफ्रिकाले खेलेको यो नै पहिलो विश्वकप हो । सबै खाले अन्तर्राष्ट्रिय प्रतिबन्धपछि दक्षिण अफ्रिकाले सिधै अन्तर्राष्ट्रिय खेल्न थालेको थियो । सिड्नीमा भएको सेमिफाइनलमा दक्षिण अफ्रिकाले सुरुमा इंग्ल्यान्डलाई ४५ ओभरभित्र २ सय ५२ रनमा रोकेको थियो । इंग्ल्यान्डले ६ विकेट गुमाएको थियो । फेरि खेल वर्षाले प्रभावित रह्यो र अन्ततः यही वर्षाले फाइनल खेल्न सपना बगाएको थियो ।
दक्षिण अफ्रिकी इनिङ्सको निर्णायक मोडमा खेल वर्षाले बिथोलिएपछि दक्षिण अफ्रिकाले जितका लागि एक बलमा २२ रन बनाउनुपर्ने असम्भव लक्ष्य पाएको थियो । त्यसअघि टोलीसामु १३ बलमा २२ रनको लक्ष्य थियो । त्यतिबेला क्रिजमा रहेका दक्षिण अफ्रिकी ब्याटर ब्रायन म्याकमिलनले भनेका थिए, ‘त्यतिबेलाको दुःखले अझै मलाई पिरोलिरहन्छ ।’
सन् १९९९ : एकै रनले रोकिँदा
एजबास्टनमा भएको सेमिफाइनलमा स्टिभ वाको अस्ट्रेलियालाई हराउन दक्षिण अफ्रिकासामु थियो २ सय १४ रनको लक्ष्य । अहिलेको परिस्थितिअनुसार त यो मामुली लक्ष्य थियो । त्यतिबेलाको क्रिकेट बेग्लै थियो । खेल अन्त्यतिर पुग्दा दक्षिण अफ्रिकालाई अन्तिम ओभरमा ९ रन आवश्यक थियो ।
लान्स क्लुसनरले सुरुआती दुई बलमा लगातार चौका प्रहार गर्दै स्कोर बराबरीमा ल्याए । त्यसपछि दक्षिण अफ्रिकामाथि बज्रपात नै भयो । ड्यामिन फ्लेमिङको चौथो बलमा एक रन बटुल्ने क्रममा क्लुसनर त दौडे तर एलान डोनाल्ड दौडेनन् । उनी रनआउट भए । लिग चरणमा दक्षिण अफ्रिकालाई पराजित गरेको आधारमा अस्ट्रेलिया सेमिफाइनल पुग्यो ।
सन् २००७ : नाटकीय पतन
वेस्ट इन्डिजमा भएको सन् २००७ को विश्वकपको सेमिफाइनल सेन्ट लुसियाको मनमोहक रंगशालामा भएको थियो । फेरि एकपल्ट दक्षिण अफ्रिकाको प्रतिद्वन्द्वी थियो अस्ट्रेलिया । बिहीबार कै दिन दक्षिण अफ्रिकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो र यसक्रममा २७ रन बनाउँदासम्म ४ विकेट गुमाएको थियो ।
कप्तान ग्रिम स्मिथ दुई रन बनाएर आउट भएका थिए । खराब सुरुआतका कारण बलियो स्कोर खडा हुन नै सकेन । अन्त्यमा दक्षिण अफ्रिकाले १ सय ४९ रन मात्र बनाउन सक्यो र अस्ट्रेलिया जस्तो टिमका लागि कुनै पनि स्थितिमा चुनौतीपूर्ण लक्ष्य थिएन । यो खेल अस्ट्रेलियाले ८ विकेट गुमाएर जित्यो ।
सन् २०१५ : इडेन पार्कको पीडा
यो वर्षको सेमिफाइनल पनि वर्षाले प्रभावित रह्यो । अकल्यान्डको इडेन पार्कमा भएको खेलमा दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै ४३ ओभरमा ५ विकेट गुमाएर २ सय ८१ रन बनाएको थियो । पछि न्युजिल्यान्डले नयाँ लक्ष्य पायो २ सय ९८ रनको । न्युजिल्यान्डलाई यसलाई आत्मसात् पनि गर्यो । त्यो पनि नाटकीय स्थितिमा ।
ग्रान्ड इलियटले नटआउट ८४ रन बनाए । अनि ब्रेन्डन म्याककलम र कोरे एन्डरसनले पनि व्यक्तिगत अर्धशतक बनाए । न्युजिल्यान्ड एक बलको खेल बाँकी छँदा ४ विकेटले विजयी रह्यो । दक्षिण अफ्रिकामा जन्मेर न्युजिल्यान्डका लागि खेलका इलियटले डेल स्टेयनको पाँचौं बलमा छक्का प्रहार गरे । ‘साह्रै नमज्जा लागेको थियो,’ दक्षिण अफ्रिकी कप्तान एबी डी भिलियर्सले पछि भनेका थिए ।
दियो खबर । २ मंसिर २०८०, शनिबार ०८:४९