तस्बिर: अप्सरा बिष्ट
सुर्खेत। नेकपा (एमाले) कर्णाली प्रदेशको प्रथम अधिवेशनबाट पदाधिकारीमा गुलावजंग शाहको प्यानल विजय भएको छ।
मतदानमा जम्मा मत ६०४ खसेकोमा ५८० मत सदर भएको थियो भने २४ मत बदर भएको थियो। प्रथम अधिवेशनमा एमाले कर्णाली प्रदेश कमिटी अध्यक्षमा सल्यानका शाह निर्वाचित भएका हुन्।
शाह ३६९ मत ल्याउँदा अध्यक्षका निकटतम प्रतिस्पर्धी कालिकोटका मीनबहादुर शाहीले २०७ मत पाए भने प्रकाश रोकायले जम्मा ४ मत प्राप्त गरेका छन्। त्यस्तै, उपाध्यक्षमा शाह प्यानलकै टेकराज पछाईले २४२ मतसहित निर्वाचित बने भने शाही पक्षका लालबहादुर महताराले १७६ मत ल्याउँदा दानसिंह परिवार ५९ मत प्राप्त गरेका छन्।
त्यस्तै, शाहकै प्यानलमा रहेका सचिवमा ध्रुव बहादुर शाही ४०६ मतले विजयी हुँदा रूद्र बहादुर शाहीले १६९ मत ल्याएका छन्। त्यसैगरी, उपसचिवमा रवीन्द्रराज शर्माले ३०० मतले विजेता बन्न सफल भए भने रमेश वहादुर शाहीले २६६ मत ल्याए। त्यस्तै, पद्मा खड्का १५१ र मेनका पछाईले ९६ मत ल्याएका छन्।
दियो खबर । १५ आश्विन २०८०, सोमबार २१:५६