सुर्खेत / राजनीति धेरै हदसम्म निर्मम हुन्छ । तर त्यो निर्ममता कुनै नयाँ प्राप्तिका लागि गरिएको त्याग हो वा व्यक्तिगत तवरको वाकयुद्ध । त्यो परिस्थितीले निर्माण गर्छ । यतिबेला कर्णालीमा कसैमाथि राजनीति निर्मम रुपमा प्रहार गरिएको छ भने त्यो नाम यामलाल कँडेल हुनसक्छ ।
जसलाई फेरि एकपटक एमाले अध्यक्ष केपी शर्मा ओलीले ९० प्रतिशत सम्भावना नकार्दै पाँच वर्ष मुख्यमन्त्री बन्ने अवसरबाट बञ्चित गराएका छन् । यसअघि एमालेको दशौँ महाधिवेशनमा कर्णालीबाट पदाधिकारी बन्ने सपना पालेका यामलालमाथि ओलीले चिसो पानी खन्याएका थिए ।
त्यसअघि पनि कर्णालीमा एमालेको दुई तिहाई बहुमत खेर फाल्दै मुख्यमन्त्री माओवादीको पोल्टामा पारेका थिए । अहिले केन्द्रीय राजनीतिदेखि प्रदेशसम्म आलोपालो सरकारको नेतृत्व गर्ने सहमति विपरित कर्णालीमा पाँच वर्ष माओवादीले सरकार चलाउने ‘ठेक्का’ पाएको छ ।
अनि एमालेका लागि फेरि पनि यामलाल किनारामा बसेर सत्तायात्रा गर्ने केवल सहयात्री बन्न बाध्य हुनुपरेको छ । किनकी केन्द्रमा माओवादी अध्यक्ष पचण्ड र एमाले अध्यक्ष ओलीबीच कर्णालीको पाँच वर्षे मुख्यमन्त्री जिम्मेवारी कर्णाली माओवादी संसदीय दलका नेता राजकुमार शर्मालाई दिने सहमति भएको छ ।
जसले कर्णालीमा फेरि राजनीतिक दुर्घटना निम्त्याउने सम्भावना बढेको छ भने यामलालमाथि ओलीले अति होइन, अत्याचारकै शैलीमा निर्मम राजनीति गरेको तथ्य फेरि सतहमा आएको छ ।
एमाले, ओली र यामलालको राजनीतिक यात्रा धेरै लामो छ । तर संघीयता आएपछि नै ओली, यामलाल र एमालेको राजनीतिबारे केही चर्चा गर्दा धेरै ठूलो ‘बोन्डिङ’ देखिन्छ । ओली जसरी केन्द्रमा एमालेको नेतृत्वमा चट्टानी बनेर बसेका छन् ।
त्यसरी यामलाल संघीयता आएपछि कर्णालीमा चट्टान बनेरै राजनीति गरिरहेका छन् । उनले लिने अडान, विष्फोट हुने तरिका र राजनीतिक रुपमा एजेन्डा उठाउने विद्रोही शैली अपनाउने उनको स्वभाव हो । तर त्यो उनको स्वभाव बाधक हो वा यामलालप्रति ओलीको पूर्वाग्रह । त्यो एक अर्काका लागि सहयोगी बनेको देखिदैन ।
प्रदेश राजनीतिमा एमालेका लागि कर्णालीमा यामलाल सुपरिचित नाम हो । तर उनले एमाले अध्यक्ष ओलीसँग सिधा सम्पर्क बनाउन नसकेर हो वा बढी अन्तरमुखी बन्न चाहेर । कर्णालीमा उनले पाउनुपर्ने धेरै अवसर पाउन सकेनन् ।
गएको दशौँ महाधिवेशनमा यामलाल सजिलै सचिव बन्न सक्थे । तर उनको त्यो आग्रह ओलीसम्म सिधा सिधा पुगेन । अनि अहिले एक झट्कामै यामलाल कर्णालीको मुख्यमन्त्री बन्न सक्थे । तर ओलीले जानीजानी यामलाललाई दुई वर्षपछि पनि मुख्यमन्त्री बनाउन योग्य ठानेनन् । यो ओलीको राजनीति मात्रै नभई उनीमाथिको अत्याचार हो ।
कर्णालीमा यामलालमाथि ओलीले गरेको राजनीतिले फेरि राजनीतिक दुर्घटना निम्तिने जोखिम छ । गएको वर्ष कर्णालीमा एमालेबाट प्रकाश ज्वालाले विद्रोह गरेका थिए । जसलाई ओली र यामलालले राजनीतिक अपराध भनेका थिए ।
तर प्रकाश ज्वालाले कर्णालीमा नेकपा एकिकृत समाजवादी पार्टी गठन गरे । आफूले चुनाव जिते । अरु नेतालाई चुनाव जिताए । एमाले खुम्चियो । समाजवादी थोरै भएपनि फैलियो । अरुलाई नेता नै नठान्ने ओली र यामलाल प्रवृत्तिमाथि धावा बोल्दै आफू सत्ता परिवर्तन गर्न सक्ने ‘गेमचेन्जर’ राजनीतिज्ञ बने ।
तर कसैको केही लागेन । अहिले यामलालमाथि एकहोरो अपमान र अन्याय भएको धेरैको बुझाई छ । कर्णालीमा एमालेसँग १० सिट छ । जसरी केन्द्रमा ३२ सिट पाएका प्रचण्ड कांग्रेसलाई छक्याउँदै एमालेको सहयोगमा प्रधानमन्त्री बनेका छन् ।
त्यसरी कर्णालीमा पनि १० सिट ल्याएर तेस्रो बनेको एमालेबाट यामलाल मुख्यमन्त्री बन्न सक्छन् । कांग्रेसले उनलाई साथ दिन ढिलो गर्दैन । तर त्यो तागत, साहस र विद्रोह गर्न सक्ने आँट यामलालसँग छ ? अब इतिहासले पनि उनको क्षमता र विद्रोहको परीक्षा खोजिरहेको छ ।
किनकी उनकै शब्दमा माओवादी कर्णालीमा परीक्षण भइसकेको पार्टी र नेतृत्व हो । कर्णालीमा प्रचण्डपछि जनार्दन शर्मा हावी हुँदा रुकुम पश्चिमका राजकुमार शर्माले पाँच वर्ष पूरा मुख्यमन्त्री बन्ने अवसर पाएका छन् ।
तर उनको लागि त्यो अवसर कर्णालीमा फेरि राजनीतिक दुर्घटना निम्तिन्छ भन्ने सन्देश हो । राजनीतिक चेत रहेको खण्डमा ओलीको लगातारको अत्याचार यामलालले विद्रोहबाट दिन सक्छन् । प्रदेश राजनीतिक रुपमा आफ्नो राजनीति गर्न सक्षम छ भन्ने सन्देश पनि अब केन्द्रलाई जान जरुरी छ । – कर्णाली खवर
दियो खबर । २५ पुष २०७९, सोमबार १२:०५