कर्णालीको मुख्यमन्त्रीमा यामलाल कि राजकुमार ?

सुर्खेत / कर्णालीमा पनि नयाँ प्रदेश सरकार गठन प्रक्रिया सुरु भएको छ । बिहीबार कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले ७ दिनको समयसीमा दिएर मुख्यमन्त्रीमा दाबी पेश गर्न दलहरुलाई आह्वान गरेका छन् ।

प्रदेश प्रमुखले आह्वान गरेसँगै अब कर्णालीमा नयाँ मुख्यमन्त्री र सरकार बनाउन दलहरुको रस्साकस्सी सुरु भएको छ । केन्द्रमा फेरिदो गठबन्धनका कारण कर्णालीमा माओवादी वा एमालेको नेतृत्वमा सरकार बन्ने सम्भावना छ ।

त्यसमा पनि एमालेबाट संसदीय दलको नेता चयन भएका यामलाल कँडेल र माओवादी संसदीय दलका नेता राजकुमार शर्मामध्ये एक जना मुख्यमन्त्री हुने पक्कापक्की छ । कर्णालीमा माओवादीसँग १३ सिट  छ भने एमालेसँग १० सिट छ ।

दुवैको मिलाएर समग्रमा २३ सिट हुन्छ । सरकार गठन गर्न कर्णालीमा २१ सिटको आवश्यकता पर्छ । ४० सदस्यीय कर्णाली प्रदेशसभामा १४ सिटसहित ठूलो दल भएपनि सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री लोभ र अकर्मण्यताका कारण कांग्रेसले केन्द्र र सातै प्रदेशमा सरकार गुमाएको छ ।

कर्णालीमा प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको सहमति स्पष्ट भइसकेको छैन । यद्यपी कर्णालीमा यसपटक एमालेको नेतृत्वमा सरकार बन्ने सम्भावना छ । एमालेले ४ प्रदेश र माओवादीले दुई प्रदेशमा दाबी गरेको छ ।

पाँच वर्षअघि माओवादीकै नेतृत्वमा कर्णालीमा सरकार बनेका कारण अहिले एमालेले आफूले पाउनुपर्ने दाबी गरेको छ । जुन स्वभाविक हो । एमालेबाट यामलाल कँडेल प्रतिक्षारत मुख्यमन्त्री हुन् । यसपटक केन्द्रको गठबन्धन टिकेको खण्डमा उनी पक्का मुख्यमन्त्री हुनेछन् ।

गएका पाँच वर्षमा उनले मुखैमा आएको मुख्यमन्त्री अवसर पनि कर्णालीको फ्लोरक्रसले गर्दा गुमाउनु परेको थियो । यसपटक उनका पक्षमा स्पष्ट माहोल छ । तर माओवादीले भने प्रधानमन्त्री प्रचण्डसँगै अडान लिएर कर्णालीमा सरकारको नेतृत्व गर्ने अवसर आफूहरुले पाउनुपर्ने माग गर्दै आएको छ ।

यसका लागि प्रचण्डले ओलीसँग कुरा गरेपछि कर्णालीको मुख्यमन्त्री को बन्ने भन्ने टुंगो लाग्नेछ । केन्द्रले जसलाई ‘ग्रीन सिग्नल’ दिन्छ, उसैको नेतृत्वमा कर्णाली प्रदेश सरकार गठन हुनेछ । त्यसका लागि पुस २७ गतेसम्म कुर्नैपर्नेछ ।

तपाईको प्रतिक्रिया