रुकुम पूर्वमा चुनाव लडेका यि उम्मेदवार जसले धरौटी जोगाउन सकेनन्

रुकुम पूर्व / मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा रुकुम पूर्वमा उम्मेदवार बनेका ११ जनाको धरौटी गुमेको छ । १ प्रतिनिधि र २ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको रुकुम पूर्वमा कुल १८ जना उम्मेदवार रहेकामा ७ जनाले मात्र कुल सदर मतको १० प्रतिशत मत ल्याउन सके ।

१० प्रतिशत मत प्राप्त गर्न नसक्ने ११ जना उम्मेदवारको धरौटी जफत भएको जिल्ला निर्वाचन कार्यालय रुकुम पूर्वले जनाएको छ । कार्यालयका अनुसार प्रतिनिधि सभामा ४ र प्रदेश सभामा ७ जनाको धरौटी जफत भएको हो । प्रतिनिधि सभामा राप्रपाका खिमबहादुर खत्री, मंगोल नेशनल अर्गनाइजेशनका रतनबहादुर बुढा, नेश्नलिष्ट पिपल्स पार्टीका बलबहादुर बुढा र स्वतन्त्र चन्द्रराज झाँक्रीको धरौटी जफत भएको हो ।

प्रतिनिधि सभा तर्फ कुल २० हजार ७ सय ५३ मत खसेकोमा १९ हजार ७ सय २२ मत सदर भएको थियो । यसको १० प्रतिशत मत नल्याउने ४ उम्मेदवारको धरौटी फिर्ता नहुने भएको हो । प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्धन्दि नेकपा एमालेका कैलाशकुमार मल्लको धरौटी जोगिएको छ ।

त्यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ तर्फ स्वतन्त्र उम्मेदवार दुतकुमार पुन, नेकपा एमालेका तेजेन्द्र बुढामगर र मंगोल नेशनल अर्गनाइजेशनका पुरा पुनको धरौटी जफत भएको छ । प्रदेश सभा १ मा कुल १० हजार २ सय ४० मत खसेकोमा ९ हजार ८ सय ७ मत सदर भएको थियो ।

यो क्षेत्रमा स्वतन्त्र उम्मेदवार सुरुल पुन विजयी हुनुभएको छ । विजयी हुने पुन र उहाँका निकटतम प्रतिद्धन्दि तेजबहादुर ओलीको मात्र धरौटी जोगिएको छ । साथै प्रदेश सभा २ मा ४ जनाको धरौटी गुमेको छ ।

कुल १० हजार ५ सय १९ मत खसेकोमा १० हजार ९० मत सदर हुँदा त्यसको १० प्रतिशत मत नल्याउने स्वतन्त्र उम्मेदवार केशव रावल, राप्रपाका केशवचन्द्र समाल, मंगोल नेशनल अर्गनाइजेशनका लेखन बुढा र स्वतन्त्र उम्मेदवार पूर्णजंग सिंहको धरौटी जफत भएको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले जानकारी दिनुभयो ।

यो क्षेत्रमा विजयी हुने नेपाली कांग्रेसका धनबहादुर केसी सहित स्वतन्त्र उम्मेदवार नरहरी खड्का र नेकपा एमालेका उम्मेदवार भावना बिसीको जमानत जोगिएको छ । कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसके धरौटी जफत हुने प्रावधान रहेको छ ।

 

तपाईको प्रतिक्रिया