कर्णाली प्रदेश : समानुपातिक मतमा एमाले पहिलो

सुर्खेत / प्रतिनिधि सभा समानुपातिकतर्फ अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। मतपरिणामअनुसार कर्णालीमा नेकपा (एमाले) पहिलो दल बनेको छ। सुर्खेतमा नेकपा (एमाले)ले यस पटक पनि २०७४ को लोकप्रियतालाई कायमै राखेको हो।

प्रदेश सभातर्फ नेकपा (एमाले)ले समानुपातिकमा एक लाख ८३ हजार ९५० मत प्राप्त गरेको छ। अघिल्लो निर्वाचनमा पनि एमाले पहिलो दल बनेको थियो। प्रदेशमा लोकप्रिय मतमा नेपाली कांग्रेस दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो भएको छ।

चुनावी तालमेलका कारण प्रत्यक्षतर्फको ‘पोजिसन’ विगतभन्दा बदलिए पनि समानुपातिकमा भने मुख्य दलहरू आआफ्नै स्थानमा देखिएका छन्। कांग्रेसले प्रदेशमा यस पटक समानुपातिकमा एक लाख ७० हजार ७५६ मत प्राप्त गरी दोस्रो स्थान सुनिश्चित गरेको छ। त्यस्तै माओवादी केन्द्र एक लाख ३७ हजार ६२९ मतसहित तेस्रो भएर पाँच वर्षअघिकै लोकप्रियता जोगाउन सफल भएको छ।

२०७४ मा कर्णालीमा समानुपातिकतर्फ चौथो स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) यस पटक पाचौँ स्थानमा पुगेको छ। उसलाई नयाँ दल नेकपा (एकीकृत समाजवादी)ले उछिनेको हो। समानुपातिक मतमा प्रदेशमा चौथो बनेको एकीकृत समाजवादीले ३५ हजार ८२६ मत ल्याएको छ।

विगतको भन्दा एक स्थान तल झरेको राप्रपाले २५ हजार १८६ मत प्राप्त गरेको छ। अघिल्लो निर्वाचनको तुलनामा यो पार्टीले मत सङ्ख्या भने झन्डै १० हजारले वृद्धि गरेको छ। राप्रपाले २०७४ को चुनावमा १५ हजार १२९ मत ल्याएको थियो।

कर्णालीमा समानुपातिकतर्फ पहिलो, दोस्रो र तेस्रो हुने दलहरूले पनि विगतको तुलनामा ठूलो सङ्ख्यामा मत वृद्धि गरेका छन्। यस पटक अघिल्लो चुनावभन्दा थप १० वटा दल बन्दसूचीमा परेका थिए। प्रदेश सभातर्फ पाँच वर्षअघि १८ दल सहभागी भएकोमा यसपालि २८ दलले प्रतिस्पर्धा गरेका हुन्। प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फ पाँच लाख ७७ हजार ८२९ मत प्राप्त भएको छ।

तपाईको प्रतिक्रिया