प्रदेशसभा उम्मेदवार थापाको डेंगीबाट निधन

काठमाडौं /प्रदेश १ का वन, वातावरण तथा भू-संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको छ । उनी ५६ वर्षका थिए । केही दिनअघि डेंगीबाट स‌ंक्रमित भएका मन्त्री थापाको बुधबार बिहान निधन भएको हो । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा बिहान साढे १० बजे निधन भएको अस्पतालका निर्देशक नारायण दाहालले जानकारी दिए ।
मोरङ क्षेत्र नम्बर ३(१) मा कांग्रेसबाट प्रदेशसभा उम्मेदवार रहेका थापा उम्मेदवारी दर्ताको भोलिपल्ट असोज २४ गते काठमाडौंको ह्याम्स अस्पताल भर्ना भएका थिए ।
अस्पताल भर्ना भएपछि उनले चुनाव प्रचारप्रसारका क्रममा घरदैलो कार्यक्रममा सहभागी हुन नसकेको भन्दै क्षमा माग्दै सामाजिक सञ्जालमा लेखेका थिए । उनलाई मंगलबार ह्याम्सबाट विराटनगरस्थित नोबेल अस्पताल सारिएको थियो । मंगलबार परीक्षणका क्रममा थापालाई निमोनियासमेत देखिएको थियो ।
पथरी शनिश्चरे-८ स्थायी घर भएका थापा लामो समय यसअघि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका स्वकीय सचिवको भूमिकामा थिए । उनका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।

तपाईको प्रतिक्रिया