रुकुमममा गोपालजि जंग शाहको संयोजकत्वमा गठबन्धनको निर्वाचन परिचालन समिति

रुकुम पश्चिम / बाम–लोकतान्त्रिक गठबन्धनले रुकुम पश्चिममा संयुक्त निर्वाचन परिचालन समिति गठन गरेको छ । मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरेर नेपाली कांग्रेसका नेता तथा पूर्व राज्यमन्त्री गोपालजि जंग शाहको संयोजकत्वमा गठबन्धनले संयुक्त निर्वाचन परिचालन समिति गठन गरेको हो ।

समिति १ सय ९ सदस्यीय रहेको छ भने समितिमा गठबन्धनमा रहेका दलका केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला सदस्य, पालिका इन्चार्ज, सभापति तथा अध्यक्ष सम्मिलित छन् । निर्वाचन प्रचारप्रसारलाई प्रभावकारी बनाउने उद्ेश्यले जिल्ला स्तरीय निर्वाचन परिचालन समिति गठन गरिएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य मानबहादुर नेपालीले जानकारी दिनुभयो ।

संयुक्त निर्वाचन परिचालन समिति पालिका तथा वडा स्तरसम्मै गठन गरिने उहाँले बताउनुभयो । त्यस्तै गठबन्धन दल सम्मिलित राजनीतिक संयत्र पनि निर्माण गरिएको छ । गठबन्धन दलका जिल्ला प्रमुखहरु, नेपाली कांग्रेसका केन्द्रीय सदस्य मानबहादुर नेपाली र नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोपाल शर्मा सम्मिलित राजनीतिक संयन्त्र गठन गरिएको हो ।

गठबन्धनले संयुक्त अपिल जारी गरेको छ भने जिल्लाका विभिन्न ठाउँमा संयुक्त कार्यक्रम गर्ने गरी तालिका बनाएको छ । जसअनुसार कार्तिक १८ गते आज चौरजहारी नगरपालिकाको खोलागाउँमा संयुक्त सभा हुँदै छ । त्यस्तै कार्तिक १९ गते त्रिवेणी गाउँपालिकाको पेउघा, २० गते सिम्रुतु, २१ गते सानीभेरीको दुली छहरा, २३ गते बाँफिकोटको छिन्खेत र २४ गते आठबीसकोटको राडिमा कार्यक्रम हुने छ ।

कार्तिक २५ गते आठबीसकोटको गोतामकोट, २६ गते खदीको साझेबगर, २८ गते मुसिकोटको झुल्खेत, २९ गते छिवाङ, ३० गते सानीभेरीको सिम्ली र मंसिर १ गते चौरजहारीको शंखपिपलमा चुनावी सभा हुने गठबन्धनले जानकारी दिएको छ । यि निर्णयहरु आज पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरिएको हो ।

तपाईको प्रतिक्रिया