कालीकोट/ लगातार परेको पानीले सुर्खेत–जुम्ला सडकखण्ड पर्णरुपमा बन्द भएको छ । कर्णाली लोकमार्गको सयौँ ठाउँमा झरेको पहिरोले सडक पूर्णरुपमा बन्द भएको हो । लोकमार्गको कालीकोट खण्डमा मात्र ५० ठाउँमा पहिरो र बाढीले सडक कटान गरेको छ । कालीकोट खण्डको सेरीघाट पुलको दायाँतिर पचास मिटर सडक तिला नदीले बगाएकाले वैकल्पिक सडकको प्रयोग समेत बन्द भएको छ ।
तिला नदीको किनारमा रहेको सडक नदीले कटान गरेर बगाएपछि पैदल आउजाउ समेत बन्द भएको छ । अन्य ठाउँमा झुलङ्गे पुल समेत नभएकाले जिल्लाको शुभकाली गाउँपालिका-१,२ र ३, खाँडाचक्र नगरपालिका-२ का नागरिकको जिल्ला सदरमुकामसँगको सम्पर्क टुटेको छ । नेपाली सेनाले ब्लास्ट गरेर मात्र सडक बनाउन सकिने भएकाले त्यो प्रक्रिया पूरा नहुँदासम्म आउजाउ गर्नका लागि जितेको शिवमन्दिरको झोलुङ्गे पुलबाट ४ घण्टाको उकालो पैदल बाटो हिँडेर मात्र सदरमुकाम पुग्न सकिन्छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी शुभराज बमकाअनुसार सबैभन्दा खतरा सेरीघाटको सडक र त्यसपछि सुनारखोला, राँचुलीको पहिरो, जुबिथाको पहिरो रहेको बताउनुभयो ।
जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सबैतिरबाट जनशक्ति परिचालन गरेर सबैभन्दा पहिला सडक खुलाउने निर्णय गरेको छ । तर सेरीघाट सडक खण्डमा माथिबाट चट्टान फुटाएर मात्र सडक निस्किने भएकाले नेपाली सेनाको हेडक्वाटरबाट अनुमति लिनुपर्ने छ ।
प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले गृहमा आफूले पत्राचार गरेको र नेपाली सेनाले पनि आफ्नो क्षेत्रबाट खबर गरेकाले छिट्टै सडक बन्ने विश्वास व्यक्त गर्नुभयो ।
सडक अवरोध हुँदा दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको छ भने दशैँ बिदामा जिल्ला बाहिर गएका र जिल्ला, शिक्षा सेवा आयोगको अन्तर्वार्तामा सहभागी हुने उम्मेदवारलाई समस्या परेको छ ।
कालीकोट खण्डको ५० ठाउँमा पहिरो
तपाईको प्रतिक्रिया
दियो खबर । २५ आश्विन २०७९, मंगलवार १९:३५