रुकुम पूर्वमा १४ जनाको स्वतन्त्र उम्मेदवारी दर्ता

रुकुम पूर्व / रुकुम पूर्वमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्ष तर्फ जिल्ला स्थित विभिन्न राजनीतिक दल र स्वतन्त्रले उम्मेदवारी मनोनयन दर्ता   गराएका छन् । जिल्लाबाट एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्यका लागि जिल्ला स्थित विभिन्न राजनीतिक दल र स्वतन्त्रले मुख्य निर्वाचन अधिकृत कार्यालयमा आइतबार उम्मेदवारी मनोनयन दर्ता गराएका  हुन् ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि  आकाङ्क्षीहरूले राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयनपत्र  दर्ता गराएका छन्  । २६ जनाको मनोनयन दर्ता भएको मध्ये १४ जनाको स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता भएको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले कखरालाई बताउनुभयो ।

प्रतिनिधिसभा तर्फ ६ जना र प्रदेशसभा तर्फ २० जनाले मनोनयन दर्ता गराएका छन् । जिल्लामा पाँच दलीय गठबन्धनबाट सङ्घमा नेकपा माओबादी केन्द्रका पूर्णबहादुर घर्ती मगरले मनोनयन दर्ता गराउनुभएको छ । घर्ती मगर लुम्बिनी प्रदेशको सभामुख समेत हुनुहुन्छ । यस्तै दुई वटा निर्वाचन क्षेत्र रहेको प्रदेशसभामा प्रदेश (क) बाट गठबन्धनका तर्फबाट माओबादी केन्द्रका तेजबहादुर ओली र प्रदेश (ख)बाट गठबन्धकै तर्फबाट नेपाली कांग्रेसका धनबहादुर केसीले मनोनयन दर्ता गराउनभएको छ ।

यस्तै नेकपा एमालेको तर्फबाट सङ्घमा कैलाशकुमार मल्लको मनोनयन दर्ता भएको छ भने प्रदेशसभा तर्फ निर्वाचन क्षेत्र (क)बाट तेजेन्द्र बुुढा मगर र निर्वाचन क्षेत्र (ख)बाट भावना बुढाथोकीको मनोनयन दर्ता भएको छ । यस्तै राप्रपाबाट सङ्घमा खिमबहादुर खत्रीको मनोनयन दर्ता हुँदा प्रदेश निर्वाचन क्षेत्र (ख) मा केशवचन्द समालले मनोनयन दर्ता गराउनुभएको छ । निर्वाचन क्षेत्र (क)बाट भने राप्रपाले उम्मेदवार दिएको छैन् ।

मङ्गोल नेसनल अर्गनाइजेसनबाट प्रतिनिधिसभामा रतनबहादुर बुढा, प्रदेश निर्वाचन क्षेत्र (क)बाट  पूरा पुन र निर्वाचन क्षेत्र (ख)बाट लेखन बुढाले उम्मेदवारी दर्ता गराउनुभएको छ । नेश्नलिस्ट पिपल्स पार्टीबाट प्रतिनिधिसभामा बलबहादुर बुढाले मनोनयन दर्ता गराउनुभएको छ ।

तपाईको प्रतिक्रिया