दुधमा प्रोत्साहनका लागि २ सय ५२ समुह, सहकारीले दिए आवेदन

रुकुम पश्चिम / दुधमा प्रोत्साहनका लागि रुकुम पश्चिममा २ सय ५२ वटा समुह र सहकारीले आवेदन दिएका छन् । पशु अस्पताल तथा पशु सेवा कार्यालयले यो वर्ष देखि दुधमा प्रतिलिटर ५ रुपैंया प्रोत्साहन दिँदै छ । जसका लागि कार्यालयले आवदेन आह्वान गरेको थियो ।

जसअनुसार जिल्लाका २ सय ५२ वटा समुह तथा सहकारीले आवेदन दिएको पशु अस्पताल तथा पशु सेवा कार्यालयले जनाएको छ । उक्त समुह र सहकारीमा झण्डै ५ देखि ६ सय कृषकहरु जोडिएको कार्यालय प्रमुख ज्ञानुकुमार शर्माले बताउनुभयो । प्रोत्साहनका लागि आवेदन दिएकाले कार्तिक देखि पैसा पाउन सुरु गर्ने उहाँको भनाई छ ।

आधिकारीक दुध संकलन केन्द्र, डेरी तथा सहकारीमा दुध बिक्रि गरेको रेकर्डका आधारमा कृषकले दुधमा प्रति लिटर ५ रुपैंयाका दरले प्रोत्साहन पाउने छन् । प्रत्येक ४÷४ महिनामा प्रोत्साहन वितरण गर्ने गरी व्यवस्था गरिएको छ । पहिलो चौमासिकको रकम कार्तिक मसान्तमा वितरण गरिने पशु अस्पताल तथा पशु सेवा कार्यालयले जनाएको छ ।

प्रोत्साहनका लागि निश्चित समयभित्र आवेदन दिन छुटेकाहरुले पनि आवेदन दिन सक्ने कार्यालयको भनाई छ । यसका लागि आफ्नो स्थानीय तहको पशु शाखामा सम्पर्क गर्न कार्यालयले सबै दुध उत्पादक कृषकहरुलाई अनुरोध गरेको छ । दुध उत्पादनलाई बृद्धि गर्न दुधमा प्रोत्साहनको कार्यक्रम बनाइएको हो ।

यसअघि स्थानीय तहहरु मार्फत प्रोत्साहनका कार्यक्रम संचालन भइरहेका थिए । तर पहिलो पटक पशु अस्पताल तथा पशु सेवा कार्यालयले जिल्ला भरमा दुधमा प्रोत्साहनको कार्यक्रम संचालन गर्न लागेको हो । रुकुम पश्चिम दुधमा आत्मनिर्भर छ । जिल्लाबाट दैनिक ठूलो मात्रामा दुध जिल्ला बाहिर निर्यात भइरहेको छ ।
 

तपाईको प्रतिक्रिया