रुकुम पश्चिमका ६९१ जना उम्मेदवार कारबाहीमा परे,झण्डै १३ कराेड जरिवाना ।

रुकुम पश्चिम / गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा सहभागि मध्ये रुकुम पश्चिमका अधिकांश उम्मेदवार तोकिएको समयमा खर्च विवरण नबुझाउदा कारवाहीमा परेका छन् । निर्वाचन आयोगले तोकेको समयसिमा भित्र २३.३९ प्रतिशत अर्थात २ सय ११ जना उम्मेदवारले मात्र निर्वाचन खर्च बुझाएको पाइएको छ ।

जिल्लाका ६ वटा स्थानीय तहमा कुल ९ सय २ जना उम्मेदवारले निर्वाचनमा भाग लिएकामा ६ सय ९१ जना समयमा निर्वाचन खर्च विवरण नबुझाउँदा कारवाहीमा परेका छन् । निर्वाचन आयोगले कारवाहीमा परेका उम्मेदवारको नामावली र जरिवाना तोकेर पठाएको जिल्ला निर्वाचन अधिकारी कुमारी रीमा मल्लले जानकारी दिनुभयो ।

आयोगले पठाएको विवरण अनुसार जिल्लाका ७६.६० प्रतिशत उम्मेदवार कारवाहीमा परेको उहाँले बताउनुभयो । उहाँका अनुसार सबैभन्दा बढी आठबीसकोट नगरपालिकाका निर्वाचित र पराजित नगर प्रमुख तथा उपप्रमुखका उम्मेदवार सहित १ सय ७५ जना उम्मेदवारले खर्च विवरण बुझाएका छ्रैनन् । त्यस्तै चौरजहारी नगरपालिकाका १ सय ५४, बाँफिकोट गाउँपालिकाका १ सय २७, सानीभेरी गाउँपालिकाका ९३, मुसीकोट नगरपालिकाका ६९ जना र त्रिवेणी गाउँपालिकाका ७३ जना उम्मेदवार समयमै खर्च विवरण नबुझाउदा कारवाहीमा परेका बताइएको छ ।

निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम आएको ३० दिनभित्र आफ्नो जिल्लाको निर्वाचन कार्यालयमा निर्वाचनको खर्च विवरण बुझाउन भनेको थियो । आयोगले समयमा खर्च विवरण नबुझाउने मध्ये नगर प्रमुख र उपप्रमुखलाई ४ लाख ५० हजार, गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई ३ लाख ५० हजार जरिवाना तोकेको छ । त्यस्तै नगरपालिकाका वडाध्यक्ष र सदस्यहरुलाई २ लाख तथा गाउँपालिकाका वडाध्यक्ष र सदस्यहरुलाई १ लाख ५० हजार जरिवाना तोकेको छ । यसरी निर्वाचन खर्च समयमै नबुझाउने रुकुम पश्चिमका ६ सय ९१ जना उम्मेदवारलाई कुल १२ करोड ९२ लाख ५० हजार जरिवाना तोकिएको छ ।

तपाईको प्रतिक्रिया