किड्नी र बायाँ खुट्टा नभएको अवस्थामा बालकको शव फेला

रुकुम पश्चिम /रुकुम पश्चिममा एक बच्चाको शव क्षतविक्षत अवस्थामा फेला परेको छ । जिल्लाको आठबीसकोट नगरपालिका ५ गोतामकोटको बिष्ट गाउँनजिकै बच्चाको शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक राजिव श्रेष्ठका अनुसार आठबीसकोट नगरपालिका ५ गोतामकोटका १० वर्षिय विजय विष्टको शव घर नजिकैको मकैबारीमा फेला परेको हो । आईबार बेलुका विजयको आमा मकैबारीमा गएको बेला शव देखेपछि प्रहरीलाई खबर आएको थियो ।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार बालकको शव बाँया खुट्टा छुट्टिएको र पेटभित्रको आन्द्राभूडि लगायतका अंगहरु नभएको अवस्थामा भेटिएको छ। इलाका प्रहरी कार्यालय आठबिसकोटबाट घटनास्थल गएको प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । आजै बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याईने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया