१५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, अर्धचेत अवस्थामा स्थानीयले देखेपछि घटना सार्वजनिक

कैलाली / कैलालीको घोडाघोडीमा एक १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । घोडाघोडी नगरपालिका १ सुखडमा गौराको अवसरमा भइरहेको देउडा हेर्न गएकी किशोरीलाई चार जना युवकले बलात्कार गरेका हुन् ।

‘सानो काम छ भनेर एक युवकले लिएर गए । त्यसपछि अन्यलाई फोन गरेर बोलाए’ इलाका प्रहरी कार्यालय सुखडमा प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले भने ‘त्यस पछि उनी बलात्कारको सिकार भइन् ।’

किशोरीलाई सँगै लिएर गएका युवकले किशोरीलाई जबरजस्ती मादक पदार्थ सेवन गराएको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसपछि उनले अन्यलाई बोलाएर रातभर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

सानो काम छ भनेर लिएर गएको र त्यहाँ आफूलाई केही खुवाएर सामूहिक बलात्कार गरेको पीडित किशोरीलाई प्रहरीलाई बयान दिएकी छन् । २१ गते राति किशोरी सामूहिक बलात्कारको सिकार भएकी हुन् ।

बलात्कारपछि बेहोस किशोरी २२ गते दिउँसो होसमा आइन् । उनी त्यसपछि साथीको घरमा गइन् । २३ गते घर गएकी किशोरी घर पुगिसकेपछि पनि आफू बलात्कारको सिकार भएको कुरा अभिभावकलाई भन्न सकिनन् ।

२३ गते फेरी सुखड बजारमा अर्ध चेत अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

बेवारिसे अवस्थामा एक किशोरी केही समस्या रहेको जस्तो अवस्थामा प्रहरीले जानकारी पाएपछि उनलाई घोडाघोडी अस्पतालमा उपचार सुरु गरियो । राति २ बजे उनी होसमा आइन् । त्यसपछि ४ बजे प्रहरीले पीडित किशोरीको बयान लियो ।

प्रहरीसँग किशोरीले आफूमाथि सामूहिक बलात्कार भएको प्रहरीलाई भनिन् । प्रहरीले त्यस लगत्तै घटनामा संलग्नहरूको खोजी सुरु गरेको थियो ।

‘किशोरीको बयानको आधारमा हामीले तत्काल नै उनीहरूको खोजी सुरु गर्‍यौँ’ डिएसपी शाहीले भने, ‘२ जनालाई त बिस्तारा बाटै पक्राउ गरेका थियौँ ।’

अहिले सम्म प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ । थप एक जना फरार रहेको र फरार भएका व्यक्तिको पनि खोजी भइरहेको उनले जानकारी दिए ।

प्रहरीले पीडित किशोरीलाई स्वास्थ्य परीक्षणको लागि धनगढी पठाइएको छ ।

तपाईको प्रतिक्रिया