विदेशी लगानी स्वीकृतिमा समेत वृद्धि

सुर्खेत  /स्वदेशी र विदेशी लगानीका उद्योग दर्ता गर्ने क्रम बढिरहेको छ । उद्योग विभागको दुई आर्थिक वर्षको तथ्यांकले उद्योगको संख्यासँगै विदेशी लगानी स्वीकृतिसमेत बढेको देखाएको छ । आर्थिक वर्ष ०७७/७८ मा साना, मझौला र ठूला गरी जम्मा २०३ उद्योगले १ खर्ब ५६ अर्ब ६४ करोड रुपैयाँ लगानी प्रतिबद्धता भएका थिए । तर आर्थिक वर्ष ०७८/७९ मा ३०९ वटा उद्योगमा ३ खर्ब ४३ अर्ब ५५ करोड रुपैयाँ लगानी स्वीकृत भएको छ । यसले उद्योगको दर्तासँगै लगानीमा प्रतिबद्धतासमेत बढ्दै गएको विभागको तथ्यांकले देखाउँछ ।
औद्योगिक व्यवसाय ऐन, ०७६ अनुसार घरजग्गाबाहेक बढीमा २० लाख रुपैयाँसम्म स्थिर पुँजी भएको लघु उद्यम, परम्परागत सीप र प्रविधिमा आधारित उद्योगलाई घरेलु उद्योगमा वर्गीकरण गरिएको छ । १५ करोडसम्मको स्थिर पुँजी भएको साना, १५ करोडदेखि ५० करोड रुपैयाँसम्मको मझौला र ५० करोड रुपैयाँभन्दा माथि स्थिर पुँजी भएका ठूला उद्योग हुन् ।
कोभिडको प्रकोप कम भई वातावरण सामान्य भएकाले उद्योगमा लगानी बढ्दै गएको विभागकी सूचना अधिकारी पूर्णिमा उपाध्यायले बताइन् । ‘गत वर्ष कोभिडका कारण बन्दाबन्दी थियो, लगानी गर्न सक्ने वातावरण नै थिएन,’ उनले भनिन्, ‘अहिले सामान्य भइसकेको छ, त्यसैले स्वदेशी र विदेशी लगानीका प्रतिबद्धता बढ्दै गएको हो ।’ कृषि तथा वन पैदावारमा आधारित, ऊर्जामूलक, सूचना प्रविधिमा आधारित, पूर्वाधार, उत्पादनमूलक, खनिज, सेवामूलक, पर्यटन गरी ६ प्रकारका उद्योग दर्ता हुन्छन् ।
आर्थिक वर्ष ०७७/७८ मा सबैभन्दा बढी उत्पादनमूलकअन्तर्गत ७० वटा उद्योग दर्ता भएको विभागको तथ्यांक छ । यसैगरी पर्यटनमा ४०, सेवामूलक ३३ र ऊर्जामूलक उद्योग ३० वटा दर्ता भएका हुन् । सबैभन्दा कम खनिजमा १ वटा उद्योग दर्ता भएको विभागको तथ्यांक छ । आर्थिक वर्ष ०७८/७९ उत्पादनमूलकमा ११६, पर्यटनमा ५८, ऊर्जामूलकमा ५० र सेवामूलकमा ४६ वटा उद्योग दर्ता भएका छन् । खनिजअन्तर्गत भने २ वटा उद्योगमा लगानी गर्ने प्रतिबद्धता भएको छ । विभागका अनुसार विदेशी लगानीसमेत उल्लेख्य मात्रामा स्वीकृत भएको छ ।
आर्थिक वर्ष ०७७/७८ मा १८४ उद्योगमा ३२ अर्ब ७ करोड रुपैयाँ लगानी स्वीकृत भएको थियो । आर्थिक वर्ष ०७८/७९ मा २९१ उद्योगका लागि ५३ अर्ब ७० करोड रुपैयाँ लगानी स्वीकृत भएका छन् । गत वर्ष नेपाल जस्तै अन्य मुलुकसमेत कोभिडको महामारीमा परेका हुँदा यस वर्ष विदेशी लगानीसमेत धेरै बढेको विभागले जनाएको छ । तर विदेशी लगानी स्वीकृति उल्लेख्य भए पनि त्यसअनुरूप उद्योग दर्ता भने हुन सकेका छैनन् । आर्थिक वर्ष ०७७/७८ मा १८४ उद्योगको लगानी स्वीकृत हुँदा ६ अर्ब ७८ करोड रुपैयाँ लगानीका ५२ वटा मात्रै उद्योग दर्ता भएका थिए ।
यस्तै आर्थिक वर्ष ०७८/७९ मा २९१ वटा उद्योगका लागि ५३ अर्ब ७० करोड रुपैयाँ लगानी स्वीकृत हुँदा ५८ उद्योग मात्रै दर्ता भएका छन् । ‘उद्योग दर्ताको प्रमाणपत्रदेखि विदेशी लगानी स्वीकृत गर्नेसम्म समय सीमा तोकिएकाले उद्योगको संख्या र लगानी प्रतिबद्धता बढेको हुन सक्छ,’ उपाध्यायले भनिन्, ‘उद्योग बढ्नुमा एकल बिन्दु सेवा केन्द्रको पनि प्रभाव परेको छ, आगामी वर्ष अझै बढ्न सक्छ, यसका लागि काम गर्दै छौं ।’यो समाचार कान्तिपुर

तपाईको प्रतिक्रिया