कृषकलाई ठगेको आरोपमा खत्री पक्राउ

सुर्खेत /सल्यान प्रहरीले कृषकलाई ठगेको आरोपमा सामग्री सहित एकजनालाई पक्राउ गरेको छ । जिल्लाको कपुरकोट गाउँपालिका–३ कपुरकोटमा सम्झौताभन्दा कमसल सामग्री वितरण गरिरहेको अवस्थामा सामग्री सहित रोल्पा गंगादेव गाउँपालिका–३ का गंगाराम खत्रीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
कृषि किङ र किसान नामक कम्पनीका मिनिटिलर (हाते ट्याक्टर) ७२ हजारमा उपलब्ध गराउने भनी जलजला सिडसँग कृषि समूहले सम्झौता गरी कृषि समूहले ३६ हजार र बाँकी ५० हजार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ जोनले अनुदान उपलब्ध गराउने सहमति भए पनि जलजला सिडका सञ्चालक खत्रीले सम्झौताभन्दा कम लागतको मिनिटिलर ल्याएर विवतरण गरिरहेको अवस्थामा सामान सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।
प्रदेश ३०१ ००६ ख ४५ नम्बरको ट्रकमा लोड गरी ल्याई वितरण गरिरहेको अवस्थामा उक्त ट्रक नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा कृषि किङ ब्राण्डको मिनिटिलर लेखिएका डिजाइन बाई इन्डिया लेखिएका आइटम १७८ डिजेल मिनिटिलर ६२, आइटम १७३ डिजेल का मिनिटिलर ३ थान, कम्बाइन मिल १ थान, ब्रस कटर ७ थान, मोबिल ६० बोतल, गियर वेल ७५ बोतल, सिंगल इन्डक्सन मोटर १ थान र ब्रुस ब्लेड २ थान नियन्त्रणमा लिइएको उनको भनाइ छ ।
नयाँ किसान र हाइजिन एग्रोका ट्याक्टरहरूमा कृषि किङ र किसान हाते ट्याक्टरको लोगो अनधिकृत रूपमा प्रयोग गरी उक्त नयाँ किसान र हाइजिन एग्रोका हाते ट्याक्टरहरू सम्झौता गरेका ट्याक्टरहरूभन्दा निकै सस्तो रहेको भनी स्थानीय कृषकहरूबाट सूचना आएपछि नियन्त्रणमा लिएको उनको भनाइ छ ।
कृषि किङको नेपालका लागि आधिकारिक बिक्रेता रहेको डि.बी. इन्टरनेशनल प्रा.लि. भरतपुर चितवनबाट समेत आफ्नो लोगोको अनधिकृत प्रयोग गरेको भनी लिखित जाहेरी दरखास्त समेत प्राप्त भएको पौडेलले बताए ।
कृषि सामग्री ल्याई आफुले लाभ लिने नियतले झूटा लिखत बनाई किर्ते गरेकाले ठगी तथा किर्ते गरेको कसुरमा प्रहरी हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यो समाचार नेपाली रैवार

 

तपाईको प्रतिक्रिया