कर्णाली प्रदेश सरकारको बजेट पारित

सुर्खेत /कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट पारित भएको छ । प्रदेश सरकारले ३२ अर्ब ६१ करोड ६१ लाख रुपैयाँको बजेट ल्याएको थियो ।
बजेटमाथिको छलफलमा भाग लिँदै एमाले सांसद एव पूर्व मन्त्री दल रावलले आय उत्पादन गर्नेतर्फ बजेट लगानी बढाउनुपर्नेमा जोड दिए । घरजग्गाको कर लगायतका केहि करहरू आउने गरेको स्मरण गर्दै पर्यटन क्षेत्रबाट कर संकलन हुन सक्ने बताए ।
‘राजश्व संकलनको दायरा बढोत्तरी गर्ने काम गर्न आवश्यक छ । पर्यटन क्षेत्र सम्भावनाको मूल हो ।’ उनले भने, ‘अन्य कर संकलनको व्यवस्था पनि ऐनमा छ । वित्तीय अनुशासन सबैभन्दा ठूलो कुरा हो । मन्त्रालयको साधारण खर्च धान्न नसक्ने कर संकलन भइरहेको छ । यसमा हामी अब गम्भीर हौँ ।’
कर्णाली प्रदेश आर्थिक विधेयक २०७९ माथिको छलफलमा उठेका प्रश्नहरूमाथि जवाफ दिदै मुख्यमन्त्री जीवनबहादुर शाहीले राजश्व वृद्धि गर्ने बारेमा सांसदले दिएको सुझाव महत्त्वपूर्ण रहेको बताए । उनले सरकार राजश्व वृद्धि गर्न लागिपर्ने बताए ।
प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टको तर्फबाट कर्णाली प्रदेश आर्थिक विधेयक २०७९ सहित समग्र बजेट पारित गरिओस् भनी मुख्यमन्त्री जीवनबहादुर शाहीले सदनमा प्रस्ताव पेश गरेका थिए ।
सभामुख राजबहादुर शाहीले बहुमतले बजेट पारित भएको घोषणा गरेका थिए । अब अर्को बैठक आगामी बुधवार दिउँसो तीन बजे बस्ने भएको छ ।

तपाईको प्रतिक्रिया