सागर साउद/….प्रिय मन,यहि मनले त मलाई सुखी बनाउछ,खुशी बनाउछ अनि यहि मनले मलाई दुखी बनाउछ । यहि मनले त कतिलाई माया गर्छु त कतिलाई घृणा गर्छु। यहि मनले को आफ्नो को पराई छुट्टाई रहेको हुन्छु। यहि मनले हो कहिले आफुलाई कम्जोर सम्झिन्छु त कहिले बलवान। यहि मनले हो मलाई कहिले उकालो चढाउछ त कहिले ओरालो झराउछ । यहि मनले मलाई यातउता डोर्याइरहेको हुन्छ । यहि मनको फैसलाले कति कुरा स्वीकारछु त कति कुरा नकार्छु । जे गर्छु यहि मनको आदेशमा गर्छु र जे गर्दैनौ त्यो पनि यहि मनले निर्धारण गर्ने गर्छ । म यहि मनको अधिनमा छु। त्यसैले आज मलाई यहि मनभित्र पस्न मन लाग्यो । मनको गहिराई नाप्न मन लाग्यो । मनको आकार, परिधी खोज्न मन लाग्यो । मनभित्र पस्न न कसैको अनुमति चाहिने न कसैसँग बिन्ती नै बिसाउनु पर्छ , नत फिराद नै चढाउनु पर्छ। कहाँबाट पस्ने ? कसरी पस्ने भन्ने पनि नहुदो रहेछ । केवल एकान्तमा बस्ने या एक्लै भएपछी आफ्से आफ मनभित्र पुगिने रहेछ । म अहिले एक्लै छु त्यसैले यो मनको कुना कुना चाहार्न खोज्दैछु ।
जब म मनभित्र पसे अनि पाए कि मनमा अनेकौं कुरा खेल्दारहेछ्न । राम्रा नराम्रा,काम लाग्ने काम नलाग्ने । यो मन त सिमलको भुवा जस्तै यताउता उडिरहने रहेछ । एकैछिन स्थिर नबस्ने,नरहने र बस्नै नसक्ने । क्षणभर मै कहाँ कहाँ पुग्ने । यो मनको पनि त गति,स्पिड होला ! तर अहिले सम्म यसलाई कसैले नापेको छैन होला । प्रकाश बर्ष भन्दा नि कयौं गुणा छिटो छ यो मन। यो मनले एकैछिनमा बिगत,बर्तमान अनि भबिष्यलाई चिहाउन पुग्छ। बिगतका हरेक पलहरुलाई एक एक गरेर केलाउन नि कतिबेर लगाउदैन ।न बादल, वर्षा,झरीले छेक्न सक्छ न त पहाड,पर्वतले रोक्न नै सक्छ । यो मनले कुनै योजना बिना नै कति कुरा सम्झिदिन्छ त कति भुलिदिन्छ । कतिलाई सम्झिरहेको हुन्छ त कतिलाई भुलिसकेको हुन्छ । कतिलाई सम्झिरहु लाग्छ त कतिलाई सम्झिनै चाहदैन यो मन । त्यसैले
यो मन स्वार्थी पनि छ जस्तो लाग्छ । दु:खलाई नसम्झु लाग्छ । सुख र राम्रोलाई मात्रै हरेक पल याद गरुँ लाग्छ। तर जिवनलाई खल्लो बनाउने पनि यहि मन हो,राम्रो भन्दा नराम्रोलाई घरीघरी सम्झिदिन्छ ।सफलता भन्दा असफलताको तितोपनलाई सम्झिदिन्छ । कस्तो अचम्म शरीर थाक्छ तर यो मन कहिले थाक्दैन । चाहे बिरामी हुँदा होस या असहज परिस्थितिमा पनि यो मन रोकिदैन। यो गर्ने त्यो गर्ने । यसो गर्दा ठिक,त्यसो गर्दा बेठीक । सबै निर्णय यहि मनले गरिरहेको हुन्छ। भनिन्छ मनबाट गरिएका सबै काम सहि हुन,सत्य हुन। मन लगाएर गरिएको काम सफल पनि हुन्छ ।आफुले आफैलाई ढाडस दिने पनि यहि मन त रहेछ।
सबैको मन एकै खालको हुदैन्। कोहि पापै पापले भरिएको मन लिएर बाँचेका हुन्छन त कोहि अरुको कुभलोमा रमाउने मन लिएर बाँचेका हुन्छ्न । कोहि भने लोभ,लालच,क्रोध,ईर्ष्य आदिले भरिएको मन लिएर बाँचेका हुन्छ्न । मानवीय स्वभाव नै हुन कि रिस,राग,दया,माया,करुणाले भरिएको मन सबैसँग छ । कमैसंग प्रेमभाव,दया करुणाले भरिएको मन हुन्छ। बास्तबमा यो मन स्मरणहरुको महासागर रहेछ।
दियो खबर । ९ माघ २०७८, आईतवार २१:१५