कथा आमा

मदराज शाही/
कहाँबाट सुरु गरौं आज म आफ्नो कथा। मेरो हरेक अध्याय, हरेक खण्ड,हर अनुच्छेदमा तिमी छौ। तिमी चाहेर वा नचाहेर अटाएकी हुन्छौ, त्यसमा कुनै शंका छैन। तिमी मेरो जीवनको उत्तरार्धमा थियौ र पश्चिममा पनि हुनेछौ। जसरी सरगमबिना संगीत अधुरो छ, त्यसैगरी तिमी नभए अपूर्ण कथा बनेर म पनि हराउनेछु। तिमीले दिएको साथको लागि धन्यवाद भनेर तिम्रो मायाको अपमान गर्न कहाँ सक्छु र? म बाँच्नुको उदेश्य तिम्रो ओठमा मुस्कान हेर्नु र आफू तिम्रो छत्रछायाँ रहिरहोस् भन्ने हो। आज अस्तव्यस्त मेरो जिन्दगीको यदि कसैले चासो राख्छ भने त्यो तिमी नै हौ। कसैले तैँले किन त्यसको मतलब गरिस् भनेर तिमीलाई प्रश्न गर्नै सक्दैन। तिमी आफैँमा ढुक्क छ्यौ, अनि म तिमीमा। मेरो मायाको एउटा मात्र सहारा भनेकै तिमी हौ।

विज्ञानले मुटुको चार कोठा छ भन्छ, अरुको बास ती कोठाको कुनै एक कुनामा हुँदो हो तर तिमी हरेक कोठाको मध्यबिन्दु बनेर बसेकी छौ। मलाई भगवान कृष्णको कृपा छ होला र त मायामा हार्न जान्दिन। साँढेले लखेट्दा पनि म प्रेम बाँड्न खोज्छु। सायद तिम्रो मायाको अलौकिक शक्तिले बचाउँछ भन्ने निश्चित भएकाले हुनुपर्छ। तिमीलाई त सबै थाहै छ, म तिम्रा केही कुरा पनि हार्न सक्दिन। अब भन म तिमीलाई कुन पल नसोचौंला। मैले लेख्ने कवितामा शब्द तिमी हुन्छौ, शब्दमा भाव तिम्रो हुन्छ अनि भावमा आकृति तिम्रो। मेरो हातमा घडी छैन तर हरेक पल तिमी मेरो समय बनेकी हुन्छौ। बिहानीको किरणदेखि मध्यरातको निद्रामा पनि सपनी सजाउन आएकी हुन्छौ। तिमीलाई पाएर म कुर्सीमा बिराजमान नेताभन्दा बढी खुसी छु। त्यसैले मैले तिमीलाई खोजिरहन निस्कनु जरुरी छैन। मेरा हरेक ध्यानमा तिमी नै बसेकी हुन्छौ तेस्रो आँखा बनेर।

परेवाले कुँडकुँड आवाज निकाल्दै चारो टिप्दै गरेको देख्दा तिमीलाई सम्झिएँ। हो प्रेमले नै त हो कतिबेला कहाँबाट मट्याङ्ग्राले घाइते बनाउँछ भन्ने आभास हुँदाहुँदै पनि उ चारोको खोजीमा निस्किएको। उसलाई गुँडमा भएका बचेराहरुको मात्र झझल्को आएको हुन्छ। उ घन्टौं उडेर लामो दुरी तय गरेर भएपनी चारो लैजान्छ किनकि प्रेम छ र प्रेमले मात्र पुग्दैन। म पनि यहाँ छु टाढा किनकी त्यो न्यानो अंगालोमा बाँधिएर मात्र प्रेमको कथा अजर अमर बन्ने हैन। नत्र मदनले ल्हासा किन जानुपर्थ्यो र? प्रेम नै त हो। आज पनि प्रेममै गीत गुन्जिन्छन्, कथा सुनाइन्छन्। जति पनि त्याग र तपस्या हुन्छन् र भविस्यमा पनि हुनेछन् त्यो सब प्रेमकै कारण हुनेछन्। प्रेम एउटा धारो हो जुन निरन्तर बहने छ यहाँका हरेक उपासनालाइ भिजाउनका निम्ति।

म चाहन्छु कि तिम्रा आँखा रसाउन, तिमीले गहभरी आँसु बोकेकी हौ तर केवल खुशीले। तिमीले मेरो खातिर धमिल्याएका ती पानाहरु कुचिकारको मसी चोरेर म रंगाउनेछु। प्रेमले। सम्बोधनमा मैले प्रिय खर्चिएकोमा क्षमा चाहन्छु। तिमी प्रिय मात्र छैनौ किनकी आदर्शलाई प्रिय मात्र भन्नू अनुचित नै हुन्छ जस्तो लाग्छ। तर सम्बोधनको लागि सायद त्यो जरुरी पनि थियो। तिमी प्रियभन्दा पनी प्राणप्रिय छौ। आज प्रेमको खाग ओढेर चरित्र हत्या गर्नेहरुको भिडमा छु म त्यही भएर डर पनि कताकता लाग्छ। कतै म पनि तिनीहरुजस्तै कपटी त हुने हैन? अहँ। तिमीले मायाको समुन्द्रमा डुबुल्की मार्न सिकाएकी छौ अनि म छाल बगाएर छिटा मात्र भए पनि नछरी कसरी बस्न सकुँला? अहँ। म तिम्रो र मेरो सम्बन्ध यो जीवनमा त सकिन। बस मैले देखाउन अझ केही समय लाग्न सक्छ तर तिमी बिल्कुल पनि शंका नगर है। तिमीलाई क्षितिजको त्यो गुमनाम बिन्दुमा छोडेर म कुनै यात्रामा निस्कने छैन यो मेरो वचन भो।

हिजो आज खाना बनाउदा जब हात पोल्छ, तरकारीसँगै कहिलेकाहिँ जब औँलाहरु काटिन्छन् तब तिमीले रोएका पलहरु याद आउँछ। तिमी अस्वथ हुँदा त्यसलाई बहानाका रुपमा अटेर गर्ने म आजभोलि कसैलाई बहाना गर्न सक्दिन। तिमीले परम्परागत रुपमा जब मलाई चार दिन भान्सा जिम्मा लगाउँथ्यौं, तब पनि म क्रान्तिकारी बिचार झिकेर तिमीलाई नै दुख दिन्थेँ। मेरा बाले त झन तिमीलाई कति दुख दिएका छन् म आज महसुस गर्दैछु। तिमीले बाको सिकायत गरिरहँदा म मत्लब नगर्ने आज सत्यको झरीमा रुझेपछि छर्लङ्ग छु। तिम्रा कुनै पनि कुरा झुटा थिएनन्।

मैले भ्रमको चस्मा लगाएर मात्र केही नदेखेको रहेछु। आज जब तिम्रो काख याद आयो, जब तिमीले मेरो कपाल चलाउँदै मलाई फकाएको याद आयो। जब म निदाएको बेला तिम्रो चुम्बन याद आयो। तब म आफू गलत भएको स्पष्ट देख्न सकिरहेको छु। तिम्रो माया त मैले बुझेकै हुँ तर आफूले जति गर्नुपर्ने थियो त्यत्ति गर्न सकेको थिइनँ। तर आज मायाको भण्डारमा लाएको साँचो फुटाएर पस्कँदैछु। यो हावामा मैले आफ्नो आभास मिसाएर पठाएको छु। तिमीले गन्ध महसुस गर्नेछौं। प्रेम गन्ध जुन श्वास भएर तिम्रो नसामा रगतका कण हुँदै हृदयमा पुग्नेछ। मलाई बिश्वास छ। मेरो प्रेमलाई तिमीले झुठा महसुस गर्ने छैनौ।

आज घुम्दै थिएँ कामको खोजीमा तर जताजता पुग्थे तिमीलाई नै भेट्टाउँथे। तिमीबाट टाढा हुँदा तिमी मलाई कहाँ टाढा हुन दिन्छ्यौ र? तिमीले सपनिमा आई बिरामी छस् हो छोरा भन्दा आमा म खुब रोएँ। हो, आमा ४ महिना भैसकेछ आज शरीरले अस्वस्थ महसुस गरेको। तिमीलाइ सुनाएर तिम्रो पिर चिन्ता बढाउन नसेकेरै भन्ने आँट गरिन। तिमी मलाई यति धेरै माया गर्छौ, त्यही भएर आजसम्म हार्न सकेको छैन। तिमीलाई कहिल्यै मैले आइ लभ यु भनिन तर मेरो मायाको सागर कहिल्यै कम भएको छैन आमा।

मलाई आशीर्वादको फोहोरा सँधै बर्साइरहनु आकाशबाट । ताकी म आफ्नो पथबाट बिचलित नहुँ। तिमीले गाली नगरेको पनि युग बितिसकेछ आमा । मलाई दुइचार शब्दले हिर्काइदेउ ताकि म अझ तिखार्‍याै र अघि बढुँ। सपनिमै भएपनी तिम्रो चरण स्पर्श गरेर बिहानीको झिसमिसे उज्यालोलाइ पनि इन्द्रेणीको रंगजस्तै सुन्दर बनाउन सकुँ। अनि तिम्रो काखमा मैले भोगेका दुखलाइ छोप्न सकूँ। म पनि तिम्रो काखमा सधैंको लागि निदाउन सकुँ । तिमी कस्ती भयौ हौली है आमा यो अभागी छोराको याद सम्म आउदैन हो अचेल । हरेक बिहान झिसमिसेमा बिउझाउने हरेक दिन आशिर्वाद बर्साउने मेरि आमा तिमी कहाँ छौ ? तिम्रा हरेक स्पर्शले निदाउनै दिदैनन आमा ।

तपाईको प्रतिक्रिया