दियो खबर संवाददाता असोज ३,कालिकोट । कर्णाली प्रदेश सभाका सदस्य कुर्मराज शाहीले नेपालको वर्तमान संविधानकै कारण विकासमा परिवर्तन भएको दाबी गर्नुभएको छ ।
संविधान दिवस २०७७ का अवसरमा आज कालिकोटमा संविधान दिवस मुल समारोह समितिले आयोजना गरेको कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि रहनु भएका प्रदेश सभा सदस्य कुर्मराज शाहीले शान्तिपूर्ण जनक्रान्ति र जनयुद्धको जगबाट जन्मिएको संविधान जनताको पक्षमा रहेको प्रष्ट्याउदै संविधानले उत्पीडित वर्ग,क्षेत्र र समुदायको अधिकार सुनिश्चित गरेको समेत उल्लेख गर्नुभयो । यो विश्वमहामारी रुपमा फैलिएको कोरना भाइरस (कोभिड-१९)का कारणले गर्दा सम्पुर्ण नेपाली बासि लाई यो युद्धमा सरसफाइ गरेर लड्नु पर्ने भएकाले सरसफाइमा विशेष ध्यानदिन आग्रह समेत गर्नु भएको छ।
कार्यक्रमका वक्ताहरूले संविधानको रक्षा गर्दै प्राप्त उपलब्धिहरु जोगाउन सबैले साझा दृष्टिकोणका साथ अघि बढ्दै देशको समृद्धिमा जुट्नुपर्नेमा जोड दिएका छन् ।
जिल्ला समन्वय समिति कालिकोटका प्रमुख अनिपाल शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा (नेकपा)कालिकोटका अध्यक्ष धनजीत शाही,नेपाली काँग्रेसका नन्दबहादुर शाही,राप्रपा कालिकोटका उपाध्यक्ष लालबहादुर मल्ल,नेमकिपाका केन्द्रीय सदस्य नन्द बहादुर शाही लगाएतले सम्बोधन गरेका थिए ।
संविधान दिवस देशभर भव्यताको साथ मनाउने गरिएकोमा यसपटक कोरोना महामारीको कारण हलमै सिमित भएको अवस्था छ ।
दियो खबर । ३ आश्विन २०७७, शनिबार १७:०४