दियो खबर संवाददाता असोज १,कालिकोट ।
स्वर्गकी अप्सरा उपमा पाएको नेपालकै सबैभन्दा ठूलो ताल रारा ताल वरिपरि सरररर चलाउन मिल्ने साइकल लेन निर्माण थालिएकाे छ । प्रदेश सरकारको लगानीमा तालको वरिपरि साइकल लेन बनाउन मुख्यमन्त्री महेन्द्रबहादुर शाही र उद्योग पर्यटन बन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।
उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी शेर रोकायाका अनुसार क्रमागत योजनाको रुपमा आर्थिक वर्ष २०७६र७७ मा तीन करोडको ठेक्का आव्हान गरिएको जानकारी दिए ।
निर्माण जिम्मा शंकर मालि जेभी कम्पनीले दुइ करोड ८८ लाखमा लिने कबोल गरेको छ भने यो वर्ष एक किलोमिटर लम्बाई र एक दशमलव ६ मिटर चौडाईसहितको ब्लक निर्माण गरिने छ । तालको वरिपरिको लम्बाई भने साढे चौध किलोमिटर रहेको राेकायाकाे भनाई छ ।
मन्त्री बुढाले यो वर्ष एक किलोमिटर बनाईने र आगामी वर्ष थप बजेट थप्दै तालको वरिपरि साइकल लेन बनाइने बताए । साइकल लेन बनाइएको खण्डमा आन्तरिक तथा बाह्य पर्यटनले यस क्षेत्रको आयस्तरमा वृद्धि हुने र त्यसले थप रोजगारीका अवसर सिर्जना गर्दै जनजीवनलाई समृद्ध बनाउने विश्वास आफूले लिएको उनको भनाई छ ।
मुख्यमन्त्री शाहीले राराताल प्राकृतिक सम्पदाको धनि क्षेत्र भएको बताउँदै ताल क्षेत्रमा अन्य सवारी साधन नपुर्याइने जनाए । तालको प्राकृतिक स्वरुपको जगेर्ना गरिराख्न मिलिचौर भन्दा तल साइकल मात्रै लैजान पाईने र साइकल यात्रा गर्न दिइने उनको भनाई थियो ।
दियो खबर । १ आश्विन २०७७, बिहीबार ११:१७