कालीकोट– नेकपा एमाले कालीकोटमा आन्तरिक तरंग उत्पन्न भएको छ। पार्टीका युवा नेता तथा युवा संघका केन्द्रीय सचिवालय सदस्य वकिल बमले नेकपा एमाले र युवा संघ दुवैबाट राजीनामा दिएका छन्।
आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौंमा बसेको पार्टी बैठकले बमको नाम सिफारिस गरे पनि कालीकोटमा बसेको बैठकले नगेन्द्र शाहीको एकल नाम सिफारिस गरेपछि विवाद देखिएको थियो। सोही निर्णयपछि बमले पार्टी परित्याग गर्ने निर्णय गरेका हुन्।
दियो खबरसँग कुरा गर्दै बमले राजनीतिक दल विधि, विधान र स्थापित प्रक्रियाअनुसार चल्नुपर्ने बताए। “पार्टी कुनै कम्पनी होइन, यहाँ निर्णय मनपरी ढंगले होइन, विधि र प्रणालीअनुसार हुनुपर्छ,” उनले भने। लामो समय पार्टीको संगठन निर्माणमा सक्रिय रहे पनि पछिल्लो समय विधि र प्रक्रियाको पालना नभएको अनुभूति भएपछि राजीनामा दिनुपरेको उनको भनाइ छ।
करिब २० वर्षदेखि पार्टीको संगठन विस्तार र गतिविधिमा सक्रिय बमले कठिन परिस्थितिमा पनि पार्टी जोगाउन इमान्दारीपूर्वक काम गरेको बताए। तर नेतृत्वबाट अपेक्षित विश्वास नपाएपछि पार्टीमा बस्नुको औचित्य नरहेको भन्दै उनले एमाले र युवा संघबाट अलग भएको स्पष्ट पारे।
बमले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर पार्टी छोड्ने निर्णयबारे जानकारी गराइसकेको जनाएका छन्। अब कुनै पनि राजनीतिक दलमा आबद्ध नहुने र स्वतन्त्र नागरिकका रूपमा रहने उनको भनाइ छ।
राजीनामाबारे औपचारिक जानकारी आज दिउँसो २ बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने बमले बताएका छन्।

दियो खबर । २५ पुष २०८२, शुक्रबार १३:३५