
कालिकोट। नेपाली कांग्रेस कर्णाली प्रदेशका उपसभापति कालीबहादुर सहकारीका छोरा दिनेश बोगटी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिसभा समानुपातिकतर्फको प्रारम्भिक सूचीमा परेका छन्।
रास्वपाले आह्वान गरेको समानुपातिकतर्फको खुला मनोनयन प्रक्रियामा कर्णाली प्रदेशबाट २१ जनाले आवेदन दिएका थिए। तीमध्ये दिनेश बोगटी खस–आर्य कोटाबाट प्रारम्भिक सूचीमा छनोट भएका हुन्।
रोचक संयोग के छ भने दिनेशका बुबा कालीबहादुर सहकारी स्वयं पनि नेपाली कांग्रेसबाट प्रतिनिधिसभाको समानुपातिकतर्फ सिफारिस भएका छन्। सहकारी लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय नेता हुन् र हाल शेखर कोइराला समूहमा आबद्ध छन्।
यसै परिवारका मीनबहादुर बोगटी पनि नेपाली कांग्रेस कालिकोटका उपसभापति छन्। परिवारका अधिकांश सदस्य कांग्रेसमै सक्रिय रहँदा दिनेशले भने फरक राजनीतिक धार रोज्दै रास्वपामा आवद्ध भएका हुन्।
विगत १० वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका दिनेश केही दिनअघि मात्र नेपाल फर्किएका थिए। उनको फरक राजनीतिक रोजाइ र समानुपातिक सूची प्रवेशले कालिकोटको राजनीतिमा नयाँ चर्चा र चासो थपिएको छ।

दियो खबर । ८ पुष २०८२, मंगलवार २०:१६